

काठमाडौं । ३४ वर्षअघि २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म तत्कालिन नेकपा (माले)को चौथो महाधिवेशन सिरहाको सर्रे अम्बासमा भएको थियो । भूमिगत रुपमा भएको उक्त महाधिवेशनले मदन भण्डारीलाई पार्टीको महासचिवमा चयन गरेको थियो ।
एमालेको पार्टी राजनीतिमा उक्त महाधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ । मदन भण्डारीको जबरजस्त उदयसँगै नै एमाले बलियो गरी राजनीतिमा छाएको पाइन्छ ।
आफू उदय भएको उक्त स्थानलाई एमालेले अहिलेसम्म भने खासै महत्व दिएको थिएन । तर, ३४ वर्षपछि उक्त स्थानमा एमालेले सचिवालय बैठक बाेलाएकाे छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहनाअनुसार चौथो महाधिवेशन भएको सर्रे अम्बासमा बुधबार एमालेको सचिवालय बैठक बस्दैछ ।
एमालेका केन्द्रीय सचिव तथा मधेस प्रदेश इन्चार्ज योगेशकुमार भट्टराईका अनुसार बुधबार दिउँसाेदेखि बैठक बस्ने तयारी भएको छ । यसअघि भदौ ९ गतेका लागि तय भएको सचिवालय बैठक निरन्तरको वर्षाका कारण प्रतिकूल स्थिति सिर्जना भएकाले आजका लागि सारिएको थियो ।
एमाले सचिव भट्टराईका अनुसार चौथो महाधिवेशनको ऐतिहासिक महत्वलाई सम्झना गर्न र आत्मसाथ गर्न उक्त स्थानमा बैठक बोलाएको हो । “चौथो महाधिवेशन नीति, कार्यक्रम र नेतृत्वका हिसाबले अग्रगामी रहेको थियो”, सचिव भट्टराईले भनेका छन्, “एमालेको विचार निर्माणमा त्यो महाधिवेशन ऐतिहासिक थियो, त्यसैको सम्झनास्वरुप बैठक त्यही स्थानमा तय गरिएको हो ।”
सचिव भट्टराईले यस ठाउँको भौतिक पूर्वाधारको विकास, नेपालको कम्युनिष्ट आन्दोलनको अध्ययन केन्द्र, कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा आज नै एमाले अध्यक्ष ओलीबाट कम्युनिष्ट आन्दोलनको स्तम्भ सोही ठाउँमा शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको जानकारी दिए । त्यस्तै, उक्त स्थानलाई वैचारिक तथा सैद्धान्तिक पर्यटकस्थलका रूपमा विकास गरिने उनले बताए ।