किन राहुल महरालाई पक्राउ गर्ने तहमा पुग्यो प्रचण्ड सरकार ?-Sutra News

किन राहुल महरालाई पक्राउ गर्ने तहमा पुग्यो प्रचण्ड सरकार ?

बिहिबार, १४ भाद्र २०८०

बिहिबार, १४ भाद्र २०८०

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराका कान्छा छोरा राहुल पक्राउ परे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

इलेक्ट्रिक चुरोट भेपमा सुन लुकाएर ल्याइएको प्रकरणमा उनको नाम मुछिएको थियो । सीआईबीले उक्त प्रकरणका मुख्य नाईकेसँग महरा परिवारको संलग्नता औंल्याएको थियो । सुन तस्करी प्रकरणमा स्वयम् कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नता रहेको अनुसन्धान प्रतिवेदन सीआईबीले सरकारी वकिलको कार्यालयलाई यसअघि नै बुझाएको थियो ।

तर, सीआईबीले तथ्यसहित नै प्रतिवेदन बुझाउँदासमेत राजनीतिक दबाबका कारण महरा परिवारमाथि अनुसन्धान भने हुन सकेको थिएन । महरा परिवारमाथि अनुसन्धान नभएपछि चौतर्फीरुपमा सरकारको आलोचना भइरहेको थियो । यस्तोमा सीआईबीले राहुललाई पक्राउ गरेको हो । राहुल पक्राउ परेसँगै सरकारमाथि लागेको आरोप केही हदसम्म मथ्थर छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, नेकपा (एमाले)का सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी पक्राउ पर्दा सरकारको पक्षमा राम्रो समर्थन देखिएको थियो । तर, सुन प्रकरणमा मुछिएका महरा बाउ–छोरामाथि अनुसन्धानसमेत गर्न रोकिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रश्नको घेरामा तानिएका थिए । राहुललाई पक्राउ गरेर प्रचण्डले विरोधी आवाजलाई मथ्थर पार्ने प्रयास गरेको देखिन्छ ।

मंगलबार मात्रै संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारको अनुसन्धानका क्रममा आफ्नै नाम आएपनि छानबिन गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको बताएका थिए । सरकार टिकाउनका लागि भ्रष्टाचारका फाइल नखोजेको उनको स्पष्टीकरण थियो ।

‘दोषी कोही पनि नछुटोस्, निर्दोष कोही पनि नपरोस् भन्ने सिद्धान्तअनुसार नै प्रहरी प्रशासन लाई निर्देशन दिएको छु, ‘प्रचण्डले संसद बैठकमा भनेका थिए, ‘यदि अनुसन्धानको क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन ।’

सीआईबीको प्रतिवेदन भन्छ– महरा बाउ–छोरा नै मुख्य योजनाकार

दुबईबाट गत पुस १० मा सुन लुकाएर ल्याएको भेप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको थियो । भेपमा सुन छ भन्ने विषय भन्सार कार्यालयलाई जानकारी थिएन । तर, चिनियाँ नागरिक दाओजिन वाङले भेप छुटाउन महरा र उनका छोरा राहुलमार्फत भन्सारका कर्मचारीलाई निरन्तर दबाब दिएका थिए ।

जफत गरिएको सामान लिलामी प्रक्रियामा लैजान तयारी भएपछि गोदामबाटै उक्त सामान चोरी भएको थियो । सामान चोरी भएपछि मात्रै त्यसभित्र नौ किलो सुन रहेको तथ्य खुलेको थियो । सामान चोरी भएपछि भन्सारले सीआईबीलाई अनुसन्धानको जिम्मा लगाएको थियो । सीआईबीको अनुसन्धान प्रतिवेदनअनुसार उक्त घटनामा स्वयम् कृष्णबहादुर महरा र उनको छोरा राहुलको सिधा सम्बन्ध देखिन्छ ।

तथ्यहरुले सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको नियमित सम्पर्क रहेको प्रष्ट्याउँछ । कल डिटेल्स रिपोर्ट (सीडीआर)अनुसार सुन समातिएको घटनापछि गत चैतसम्म चिनियाँ तस्कर र उसको समूहसँग महरा बाउ–छोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको देखिन्छ ।

महराले फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको र सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए ।

त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक फोनत सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । अर्का चिनियाँ तस्करलाई राहुलले तीन पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई पनि ३६ पटक सम्पर्क गरेको देखिन्छ ।

फोन सम्पर्क मात्रै नभई सामाजिक सञ्जालका अन्य उपायमार्फत पनि महरा बाउ–छोराको पटक–पटक संवाद गरेको तथ्य सीआईबीले भेटाएको छ । सीआईबीले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदनसमेत तयार गरेको छ ।

महरा पक्राउपछि अन्य फाइल खोल्न सजिलो

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले एक महिना बढी संसद अवरुद्ध ग¥यो । एमालेको मागबमोजिम सुन तस्करी प्रकरणमा संसदीय समिति वा उच्च स्तरीय राजनीतिक छानबिन समिति बनाउन त सरकार तयार भएन तर, असोजभित्र अनुसन्धान आयोग बनाउन भने सरकार तयार बन्यो ।

सुन प्रकरणमा महरा बाउ–छोराको नाम मुछिएपछि नै संसदमा एमाले आक्रामक बनेको थियो । आफ्नालाई संरक्षण गर्दै प्रधानमन्त्री प्रचण्ड अन्य दलविरुद्ध नियोजित लागेको आरोप पनि कांग्रेसले लगाएको थियो ।

तत्कालिन समय नै महरा बाउ–छोरामाथि बयान लिनेसम्मको काम गरेको भए सरकारलाई अन्य फाइलमाथि कारबाही गर्न सजिलो हुन्थ्यो । तर, सरकारले ढिला गरी उक्त फाइलमाथि कारबाही अघि बढाएको छ ।

महरा बाउ–छोरामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउँदै गर्दा अन्य प्रकरणका फाइल खोल्न सरकारलाई सजिलो हुने विश्लेषणहरु हुन थालेका छन् । यो घटनासँगै विभिन्न प्रकरणमा मुछएिका अन्यमाथि पनि अब सहजै अनुसन्धान सुरु हुन सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट