चुच्चे नक्सा स्वीकार नगरेपछि बालेनले रद्द गरे चीन भ्रमण-Sutra News

चुच्चे नक्सा स्वीकार नगरेपछि बालेनले रद्द गरे चीन भ्रमण

बिहिबार, १४ भाद्र २०८०

बिहिबार, १४ भाद्र २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् । चीन सरकारको निमन्त्रणामा बिहीबारदेखि तय भएको भ्रमण अन्तिम समय शाहले रद्द गरेका हुन् ।

चीन सरकारले हालै जारी गरेको नक्सामा नेपालको नयाँ नक्साअनुसारको भूभाग देखाएको छैन । नेपालको नयाँ नक्साअनुसारको भूभाग नदेखाएको विरोधमा उनले भ्रमण रद्द गरेका हुन् ।

चीनकाे कदमले नैतिकरुपमा प्रश्न उठेको भन्दै शाहले भ्रमणमा नजाने निर्णय गरेको कुरा सामाजिक सञ्जाल फेसबुकमार्फत बताएका छन् ।

“हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौंं, केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ”, उनले भनेका छन्, “नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं, त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको पाँच दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।”

भारतसँग विवाद कायमै रहेका बखत चीनको प्राकृतिक स्रोत मन्त्रालयले भदौ ११ मा नयाँ नक्सा सार्वजनिक गरेको थियो । जसमा चीनले नेपालको चुच्चे नक्सालाई अस्वीकार गरेको छ भने भारतका कतिपय भूभागलाई आफ्नो नक्सामा गाभेको छ ।

विवादित भूमि अक्साई चीन र भारतले आफ्नै भनिआएको अरुणाञ्चललाई समेत चीनले आफ्नो नयाँ नक्सामा समेटेको छ । जसको भारतभर विरोध भइरहेको छ भने नेपाल सरकारले भने चीनको कदमप्रति हालसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

मेयर बालेनको यो कदमले भने चीनलाई नैतिकरुपमा असहज पर्ने देखिएको छ । यसअघि भारतले आफ्नो संसद भवनमा सांस्कृतिक नक्सा भन्दै नेपाललाई गाभेको घटनामा बालेनले ग्रेटर नेपालको नक्सा कार्यकक्षमा राखेर विरोध जनाएका थिए । बालेनको उक्त कदमले विश्वभर चर्चा पाएको थियो । भारतले उक्त नक्सा सांस्कृतिक मात्रै भएको भन्दै बचाउ गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट