

काठमाडौं । सरकारका गतिविधि र एमसीसीलाई लिएर दलहरुबीच विवाद कायमै रहेका बेला कर्णालीमा समाजवादी मोर्चाको सन्देशसभा भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मोर्चाको सन्देश सभा भएको हो ।
वीरेन्द्रनगरमा भएको सन्देशसभामा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत सहभागि थिए । सन्देश सभाबाट दलहरुले मोर्चाको प्रदेश समन्वय समिति पनि घोषणा गरेका छन् ।
घोषणा भएको समन्वय समितिमा मोर्चामा आवद्ध दलको सिफारिसमा तीन÷तीन जना सदस्य रहेका छन् । घोषित समितिमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदारा रहेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपमहासचिव तथा सांसद प्रकाश ज्वाला, प्रदेश अध्यक्ष एवं सांसद अमर बहादुर थापा र ठगेन्द्र पुरी सदस्य रहेका छन् । विप्लव नेतृत्वको नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी र जसपाबाट देवीराज न्यौपाने, गगन बहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन् ।