

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले भ्रष्टाचारविरुद्ध आन्दोलन छेडेको बताएका छन् । भ्रष्टाचारविरुद्धको आन्दोलन यत्तिकै नरोकिने उनले बताए ।
समाजवादी मोर्चाले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्ता टिकाउनका लागि सम्झौता नगरिरहेको बताए ।
सरकार परिवर्तन गर्ने खेल चलेकोप्रति संकेत गर्दै प्रचण्डले कसले हटाउने रहेछ हेरिरहेको पनि बताएका छन् । जनताको पक्षमा काम गर्दा जस्तोसुकै जोखिम मोल्न तयार भएको उनको भनाई छ ।
“मलाई केही लिनु छैन, केही दिनु छैन, जे छ राष्ट्र र जनताको लागि, क्रान्ति र उपलब्धि रक्षाको लागि हो, यो सरकार कतिसम्म चल्छ मलाई टेन्सन छैन, सरकार टिकाउन यस्तो गर्यो र उस्तो गर्यो भन्छन् त्यो वाहियात हो”, उनले भनेका छन्, “राम्रो काम गर्छु, जनताले हेरिरहेका छन्, राम्रो काम गर्दागर्दै कसले हटाउँदो रहेछ हेर्छु ।”
माओवादीका नेताहरु जोगाउन सरकार लाग्यो भनि लागेका आरोपको प्रचण्डले खण्डन गरेका छन् । अनुसन्धानका क्रममा आफू नै देखिएपनि समाउन निर्देशन गरेको उनले सुनाए । “मैले सिआइबीलाई भनेको छु, गल्ती गरेको भए मलाई पनि समाउनुस्, अनुसन्धान गर्नुहोस् भनेको छु”, उनले भने ।
बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा उतार्ने तयारी रहेको उनले बताएका छन् । राष्ट्रियता, जनजीविका, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारको विरुद्धमा जनतालाई उतारेर जगैदेखि हल्लाइदिने प्रचण्डको भनाई छ ।
“बर्खा सिद्धिएपछि लाखौं जनतालाई सडकमा ल्याएर राष्ट्रियताको पक्षमा, जनजीविकाका पक्षमा, सामाजिक न्यायको पक्षमा र भ्रष्टाचारविरुद्ध जगैदेखि हल्लाइदिनुपर्ने हुन्छ, जनतालाई सडकमा नल्याई सरकारले नै गर्देला र खाउँला भन्नु भुल हो”, उनले भनेका छन् ।