

काठमाडौँ। पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले बिहीबार विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको जनाएको हो।
पेट्रोल प्रतिलिटर ४, डिजेल र मट्टितेल प्रतिलिटर ३ र एलपी ग्यास प्रतिसिलिन्डर २३५ रुपैयाँ बढेको निगमले जनाएको छ। यो सँगै अब खाना पकाउने ग्यासको मूल्य १ हजार ८९५ कायम हुने भएको छ।
स्वचालित प्रणाली लागुपछि तीन पटक मूल्य वृद्धि
आयल निगमको २३३५ औं बैठकले पेट्रोलियम पदार्थको स्वचालित मूूल्य प्रणालीअनुसार मूूल्य कायम गर्ने निर्णय गरेको थियो । निगमले उक्त कार्यविधि साउन १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो।
निगमले स्वचालित प्रणाली लागु गरेसँगै हालसम्म तीन पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ।
निगमले साउन १६, साउन ३० र बिहीबार गरी तीन पटक मूूल्य परिवर्तन वृद्धि गराएको छ।
स्वचालित प्रणाली लागु गर्दा काठमाडौंमा १६४ रुपैयाँ रहेको पेट्रोल बिहीबारको निर्णयसँगै १८२ रुपैयाँ पुगेको छ। यस्तै, डिजेल तथा मट्टितेलको मूूल्य १४६ रुपैयाँबाट बढेर १७० रुपैयाँ पुुगेको छ ।
ग्याँसको मूूल्यमा भने घटबढ हुँदै प्रति सलिण्डर १७९० रुपैयाँबाट १८९५ रुपैयाँ पुगेको छ।
निगमले यसअघि साउन १६ मा १७९० रुपैयाँ रहेको ग्याँसको मूल्य घटाएर १६६० रुपैयाँ कायम गराएको थियो ।
निगमले अन्तराष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पनि बढ्न गएको दाबी गरेको छ।
निगमले लागत मूल्यको आधारमा डिजेल तथा मट्टितेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मात्रै नाफा राखिएको दाबी गरेको छ । निगमका अनुसार खाना पकाउने एलपी ग्याँसमा कुनै मुुनाफा राखिएको छैन ।