काठमाडौं । सिटिजन लाइफ इन्सुरेन्सले आज (शुक्रबार)देखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा आइपीओ ल्याएकाे हाे ।
इन्सुरेन्स कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३०% ले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले प्रिमियम दरमा १ करोड १२ लाख ५० हजार कित्ता आइपीओ सर्वसाधारणलाई निष्कासन गरेको छ । यसमध्ये १०% अर्थात् ११ लाख २५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन भइसकेको छ । त्यस्तै, ५% अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता सेयर कर्मचारी र ५% (५ लाख ६२ हजार ५०० कित्ता) सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
सर्वसाधारणले बाँकी रहेको ९० लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन पाइनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।