तस्करीको सामान बरामद गर्दा तस्करले नै ढुंगा बर्साएपछि…-Sutra News

तस्करीको सामान बरामद गर्दा तस्करले नै ढुंगा बर्साएपछि…

शुक्रबार, १५ भाद्र २०८०

शुक्रबार, १५ भाद्र २०८०

काठमाडौं।बाँकेको नेपालगञ्जमा सशस्त्र प्रहरी र तस्करीको सामान ल्याएका व्यक्तिहरूबीच झडप भएको छ । सशस्त्र प्रहरीले तस्करीको सामान बरामद गरेपछि झडप भएको सशस्त्र प्रहरीले जनाएको छ । झडपमा दुईजना सशस्त्र प्रहरीका कर्मचारी र एकजना स्थानीय घाइते भएका छन् ।



नेपालगन्ज उपमहानगरपालिका–१६ चौलिका चोकबाट गए राति साढे ९ बजेतिर बागेश्वरी गण बाँकेको टोलीले चोरी पैठारीको विभिन्न सामान बरामद गरेको थियो । हार्डवेयरका सामानको पूरा भन्सार नतिरेको पाइएपछि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

तर, तस्करीको सामान ल्याउने व्यक्तिहरू र स्थानीयको करिब १२० जनाको टोलीले सामान फिर्ता पाउनुपर्ने माग राखेर ड्युटीमा खटिएका सशस्त्र प्रहरीबाट सामान खोसेर लिने प्रयास गरेको सशस्त्र प्रहरीको दाबी छ । त्यसपछि तत्कालै थप मद्दतका लागि पुगेको ७१ जनाको सुरक्षा फौजले हुलहुज्जत गर्ने व्यक्तिहरूलाई सम्झाएर पठाएको थियो ।

तर, उनीहरू राति साढे १० बजेतिर फेरि आएर ड्युटीमा रहेका सशस्त्र प्रहरीमाथि एक्कासि ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ । त्यसपछि भाग्ने क्रममा स्थानीय १८ वर्षीय जहित हसमित सामान्य घाइते भएका थिए ।

ढुंगामुढा प्रहारबाट बागेश्वरी गण बाँकेमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार बेदप्रसाद पौडेल र सशस्त्र प्रहरी जवान गणेश बुढा घाइते भएको जनाइएको छ ।

सशस्त्र प्रहरीले उनीहरूबाट चोरीपैठारीको हार्डवेयरका सामान, चामल तथा चिनी बरामद गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट