एसिया कप : अफगानिस्तानमाथि बंगलादेशको ३३५ रनको लक्ष्य-Sutra News

एसिया कप : अफगानिस्तानमाथि बंगलादेशको ३३५ रनको लक्ष्य

आइतबार, १७ भाद्र २०८०

आइतबार, १७ भाद्र २०८०

काठमाडौँ । एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत बंगलादेशले अफगानिस्तानलाई जितका लागि ३ सय ३५ रनको लक्ष्य दिएको छ ।



पाकिस्तानको लाहोरमा रहेको गद्दाफी स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३ सय ३४ रन बनायो ।

बंगलादेशका लागि नजमल होसैन शान्तो र मेहेदी हसन मिराजले शतकीय ईनिङ खेले । उनीहरुबीचमा १ सय ९० बलमा १ सय ९४ रनको शतकीय साझेदारी गरे ।

ओपनर मिराज १ सय १९ बलमा १ सय १२ रन बनाउँदा रिटायर हर्ट भए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

शान्तोले १ सय ५ बलमा ९ चौका र २ छक्काको सहयोगमा १ सय ४ रन बनाए । मुस्फिकुर रहिम १५ बलमा २५ रन बनाउँदै रन आउट भए ।

कप्तान शाकिब अल हसनले अविजित ३२ तथा महोम्मुद नइमले २५ रन बनाए । शमिम हुसैनले ११ रन बनाए ।

अफगानिस्तानका लागि गुलबदिन नाइब र मुजिब उर रहमानले समान १र१ विकेट लिए ।

सुपर फोरको सम्भावना कायम राख्न बंगलादेशलाई जित्नै पर्ने दबाब रहेको छ ।

पहिलो खेलमा बंगलादेश श्रीलंकासँग पराजित भएको थियो ।

अफगानिस्तान भने आफ्नो पहिलो खेल खेल्दैछ । अफगानिस्तान जित निकाल्दै एक खेल अगावै सुपर फोरमा स्थान पक्का गर्न चाहन्छ ।

बंगलादेश पराजित भएमा एसिया कपबाट बाहिरिने पहिलो राष्ट्र बन्ने छ ।

समूह ए बाट पाकिस्तानले सुपर फोरमा स्थान पक्का गरेको छ ।

सुपर फोरमा पुग्ने अर्को टोली भने भारत र नेपालको नतिजा कुर्नुपर्ने छ । नेपाल र भारतविचको खेल सोमबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट