काठमाडौं । काठमाडौं महानगरपालिका बालेन्द्र साह (बालेन)ले सरकारले जग्गा उपलब्ध गराए क्रिकेट रंगशाला बनाउने पहल गर्ने बताएका छन् । श्रीलंकामा सोमबार सम्पन्न नेपाल र भारतबिचको खेल हेरेपछि उनले यस्ताे बताएका हुन् ।
उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने पनि बताएका छन् ।
‘नेपाल सरकारले काठमाडाैं महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ’, सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतह मा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरि बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरि सकेको छौ ।’
उनले फयानको रुपमा क्रिकेट हेर्न जाँदा आफ्ना अनुभवहरु प्नि सेयर गरेका छन । श्रीलंकाको अध्यागमनका कर्मचारीहरु पनि क्रिकेट हेर्न नेपाल पुगेका समर्थकहरु देखेर छक्क परेको बताए । प्रमुख साहका अनुसार स्टेडियमा ४०/५० जना जति भारतीय क्रिकेट समर्थक थिए भने नेपालीहरुको संख्या १५०० देखि २००० को बिचमा थियो ।
नेपाली क्रिकेट फ्यानहरु विभिन्न देशबाट श्रीलंका पुगेका थिए । अनुमानित हिसाब गर्ने हो भने त्यहाँ पुगेका सबै नेपालीहरुको मात्रै खर्च ३० करोड पुगेको अनुमान प्रमुख साहले लगाएका छन ।
प्रमुख साहले भने,‘ गजबको कुरा के थियो भने त्यहाँ खेल भइरहेको रंगशाला पनि हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै थियो, केहि प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यहि स्तरको रंगशाला जग्गा बाहेक ८०/९० करोडमा नै बन्छ सायद ।’
रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने बालेनले प्रस्ट पारेका छन् । ‘एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडी र तल्लो तहमा सिकाइ सुविधाका लागि अबको ३ वर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ,’ उनले लेखेका छन् ।