के कांग्रेस–माओवादी गठबन्धन भत्किन लागेको हो ?-Sutra News

के कांग्रेस–माओवादी गठबन्धन भत्किन लागेको हो ?

मंगलबार, १९ भाद्र २०८०

मंगलबार, १९ भाद्र २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार ढाल्ने खेल सुरु भएको कुरा बताउन थालेका छन् । गत बिहीबार समाजवादी मोर्चाको सुर्खेतमा आयोजित सन्देशसभालाई सम्बोधनका क्रममा प्रचण्डले पहिलो पटक सरकार ढाल्ने खेल सुरु भएको बताएका थिए । उक्त सभामा बोल्दै प्रचण्डले “कसले हटाउन सक्दो रहेछ हेर्छु” भन्दै चुनौतिपूर्ण भाषाको पनि प्रयोग गरेका थिए ।



सुर्खेतको सन्देशसभापछि पोखरामा भएको सन्देशसभामा पनि प्रचण्डले सोही भाषालाई प्रयोग गरेका थिए । त्यसयता विभिन्न सार्वजनिक कार्यक्रममा पनि प्रचण्डले आफ्नो नेतृत्वको सरकार जुनसुकै बेला ढल्न सक्ने बताउन थालेका छन् ।

पछिल्लो समय प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न फाइलहरु खोलिरहेको छ । सरकारले फाइलहरु खोल्दै गर्दा, विशेषतः सत्ता साझेदार नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी एमालेका निम्ति टाउको दुखाईको विषय बनेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा थुप्रै कांग्रेस र एमालेका नेताहरु मुछिएका छन् । नक्कली शरणार्थी प्रकरणमा स्वयम् शेरबहादुर देउवा पत्नी आरजु राणा र एमाले अध्यक्ष केपी शर्मा ओली निकटका थुप्रै व्यक्ति मुछिएका छन् । प्रकरणमा देउवाका विश्वासपात्र मानिएका पूर्वगृहमन्त्रीसमेत रहेका नेता बालकृष्ण खाँण अहिले जेलमा छन् । यस्तोमा सरकारले अन्य प्रकरणको फाइल पनि खोल्दै जाने बताइरहेको छ ।

अहिले संसददेखि सञ्चारमाध्यममा गिरीबन्धु टी स्टेट, वाइडबडी काण्ड, यति, ओम्नी काण्डलगायतमाथि पनि छानबिन गर्न माग उठिरहेको छ । सरकारले यी प्रकरणलाई अगाडि बढाएको खण्डमा कांग्रेस र एमालेकै नेताहरु समातिने खतरा छ । उल्लेखित प्रकरणहरुमा थुप्रै उच्च तहका नेताका नाम जोडिएका छन् । गिरीबन्धु टी स्टेट प्रकरणमा स्वयम् ओलीसमेत मुछिएका छन् ।

यस्तोमा सरकारले यी प्रकरणमाथि छानबिन प्रक्रिया अगाडि बढाउन खोजे सरकार परिवर्तनको खेल हुने कुरा स्वभाविक देखिन्छ । अहिले एमाले जसरी पनि गठबन्धन भत्काउने र कांग्रेससँग सहकार्य गर्ने लाइनमा छ । एमालेले घोषितरुपमै गठबन्धन भत्काउनुपर्ने बताइरहेको छ ।

विभिन्न प्रकरणमाथि छानबिन चलिरहेकै बखत कांग्रेस सभापति देउवाले पनि गृहमन्त्री परिवर्तन गर्नुपर्ने भन्दै प्रचण्डलाई दबाब दिइरहेका छन् । योबीचमा देउवाकै दबाबमा नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा रहेको प्रहरी नेतृत्वलाई नै सरुवा गरिएको छ । गृहमन्त्रीलाई समेत थाहा नदिई देउवाको एकल दबाबमा सरुवा गरिएको विषय बाहिरिएको छ ।

प्रचण्ड सरकारले थप फाइल खोल्न खोजे देउवाले सहयोग गर्लान् भन्ने आधार छैन । त्यस्तो अवस्थामा कांग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना धेरै देखिन्छ ।

राजनीतिक विश्लेषक मुकुन्द आचार्य परिस्थिति कांग्रेस र एमाले प्रतिकुल बन्दै गरेको बताउँछन् । परिस्थितिले दुई दललाई एक ठाउँमा ल्याउने सम्भावना देखाइरहेको उनले बताए ।

“जे–जसरी फाइलहरु खोलिएका छन्, ति फाइल बन्द गर्ने अवस्था छैन, बन्द नगर्दा कांग्रेस र एमालेका थुप्रै नेतृत्व तह समातिने खतरा छ, यस्तोमा उनीहरु विकल्पका लागि तयार हुने कुरा स्वभाविक हुन्छ”, आचार्य भन्छन्, “अहिलेको परिस्थिति गठबन्धन फेर्ने खालको बन्दैछ ।”

‘गठबन्धनको विकल्प सोंच्ने अवस्था छैन’

कांग्रेसका प्रभावशाली नेता रमेश लेखक चर्चा गरिएको जस्तो गठबन्धन नै परिवर्तन हुने गरी खेल नभएको बताउँछन् । सरकारले सबै कदम गठबन्धनभित्र छलफल गरेरै चालेको भन्दै उनले अविश्वासको अवस्था वा दुरी बढ्ने अवस्था नआएको बताए ।

केही आवाज आएको भएपनि कांग्रेसभित्र गठबन्धन विकल्प खोज्नेगरी छलफल नभएको उनले बताए । “हामीले गठबन्धन भत्किन्छ भनेका छैनौ, भत्काउन पनि लागेका छैनौ, हामी गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउन लाग्दैनौ”, उनले भनेका छन्, “अहिलेकै गठबन्धनको स्थिरता र स्थायित्व नै कांग्रेसको लाइन हो ।”

गृहमन्त्री परिवर्तनको विषय नेताहरुबीचको आपसी छलफल र सहमतिबाट भने हुनसक्ने उनले बताए । तथापी, अहिले गृहमन्त्री परिवर्तनको पक्षमा कांग्रेस नलागेको उनको स्पष्टीकरण छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट