काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आज (बिहीबार) देखि प्रतिकित्ता ५० रुपैयाँका दरले आइपिओ निष्कासन गरेको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हाे।
कम्पनीको सेयरमा आज भदौ २१ गते बिहीबारदेखि भदौ २५ गते सोमबारसम्म आवेदन दिन पाइनेछ । सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ ।
कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिसकेको छ।
त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।
बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको हो।
कम्पनीको आइपिओमा न्यूनतम २० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’मोबाइल एप तथा अनलाईन माध्यमको प्रयोग गरी मेरो सेयरको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु पनि सि–आस्बा प्रणालीमार्फत सेयरमा आवेदन दिन सकिन्छ ।