काठमाडौं । केही सातादेखि नै घटिरहेको शेयर बजारमा साताको अन्तिम कारोबार दिन पनि दोहोरो अंकले गिरावट आएको छ । बिहीबार २८.९२ अंकले घट्दै बजार १९३२.४५ को बिन्दुमा झरेको छ । समग्रमा १.४७ प्रतिशतले घटेको बजारका सबैजसो सूचकांक राताम्मे बनेका छन् ।
बिहीबार सबैभन्दा धेरै हाइड्रो क्षेत्रमा पहिरो गएको छ । नेप्सेको हाइड्रो इन्डेक्स २.५२ प्रतिशतले घटेको छ । अन्य इन्डेक्स पनि २.०४ प्रतिशतले घटेको छ । औसतमा नेप्सेका सबैजसो एक प्रतिशतभन्दा बढीले घटेका छन् ।
कारोबारमा आएका २२८ कम्पनीमध्ये २०३ कम्पनीको मूल्य घट्यो भने चार कम्पनीको मूल्य स्थिर रहँदा २१ कम्पनीको मूल्यमा केही सुधार देखियो ।
बाराही हाइड्रोपावर, सिटिजन म्यूचअल फण्ड, उपर सोलुलगायतको मूल्यमा नौ प्रतिशतभन्दा बढीले गिरावट आयो भने घटेको बजारमा पनि शुभम् पावरको मूल्यमा सकारात्मक सर्किट देखियो । थ्री स्टार हाइड्रो र इन्ग्वा हाइड्रोको केही बढेपनि अन्यको बृद्धि नगन्य रह्यो ।
निरन्तर घटिरहँदा बजारमा किन्नेभन्दा बेच्ने धेरै देखिए । जसको कारण बजारमा किनबेच भने अन्य दिनको तुलनामा केही बढी भएको छ । बिहीबार ३७ लाख ६९ हजार ३३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब १५ करोड नौ लाख रुपैयाँ बढीको कारोबार भयो । जुन कारोबार रकम भने केही दिनयताकै उच्च हो ।