किन घट्दैछ जीवन बीमाप्रति आकर्षण ?-Sutra News

किन घट्दैछ जीवन बीमाप्रति आकर्षण ?

आइतबार, २४ भाद्र २०८०

आइतबार, २४ भाद्र २०८०

काठमाडौं । पछिल्लो समय जीवन बीमा क्षेत्रमा बीमालेख (पोलिसी) त्याग्नेको दर बढ्न थालेको छ । नियामक निकाय नेपाल बीमा प्राधिकरणले जनाएअनुसार चालु आर्थिक वर्षको साउनमा मात्रै नौ हजार ७९८ जनाले पोलिसी सरेन्डर गरेका छन् ।



प्राधिकरणका अनुसार जुन दर जुन अघिल्लो आर्थिक वर्षको सोही महिनाको तुलनामा १६.३४ प्रतिशतले बढी हो । २०७९ साउनमा आठ हजार ४२२ जना बीमितले जीवन बीमा पोलिसी सरेन्डर गरेका थिए ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफका बीमितले पोलिसी सरेन्डर गरेका छन् । प्राधिकरणले जनाएअनुसार नेपाल लाइफका तीन हजार ३२४ पोलिसी सरेन्डर गरेका छन् ।

नेपाल लाइफपछि सबैभन्दा धेरै पोलिसी सरेन्डर गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन रहेको छ । प्राधिकरणले जनाएअनुसार जसका दुई हजार २४ जनाले पोलिसी सरेन्डर गरेका छन् ।

हिमालयन लाइफ इन्स्योरेन्सका ९८८, राष्ट्रिय बीमा संस्थानका ८६२, एशियन लाइफ इन्स्योरेन्सका ७४४, मेट लाइफका ४६८, सूर्यज्योति लाइफका ४०८, नेशनल लाइफका २९१, सानीमा रिलायन्सका १८०, सिटिजन लाइफका १७६, रियालयबल नेपालका १६२, आइएमई लाइफका १३३, सन नेपालका १३ र प्रभु महालक्ष्मीका २५ जनाले बीमा पोलिसी त्यागेका छन् ।

बीमा पोलिसी सरेन्डर हुँदा बीमा कम्पनीहरुबाट कुल एक अर्ब २८ करोड ३३ लाख रुपैयाँ बाहिरिएको प्राधिकरणले जनाएको छ । जसमा नेपाल लाइफको सबैभन्दा धेरै ४७ करोड २३ लाख रुपैयाँ रकम रहेको छ । नेपाल लाइफपछि लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३९ करोड २५ लाख रुपैयाँ बाहिरिएको प्राधिकरणले जनाएको छ ।

यस्तै, राष्ट्रिय बीमा संस्थानबाट १० करोड ३२ लाख बाहिरिएको छ भने हिमालयन लाइफ इन्स्योरेन्सबाट १२ करोड २२ लाख बाहिरिएको छ । यस्तै, सूर्यज्योति लाइफ इन्स्यारेन्सबाट सात करोड ४६ लाख बाहिरिएको छ भने एशिएन लाइफबाट पाँच करोड ८४ लाख बाहिरिएको छ ।

नेशनल लाइफबाट चार करोड बाहिरिएको छ भने सिटिजन लाइफबाट एक करोड १४ लाख र सानीमा रिलायन्सबाट एक करोड ५१ लाख रुपैयाँ बाहिरिएको छ ।

किन घट्यो आकर्षण ?

बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बीमा कम्पनी स्वयमले बुझाउन नसक्दा बीमा क्षेत्रप्रति आकर्षण घट्न थालेको बताउँछन् । उनका अनुसार कम्पनीले पोलिसी खरिदकर्तालाई बीमाको महत्वबारे बुझाउन सक्नुपर्छ ।

“बीमाले त बीमा अवधिभर तपाईंलाई कुनै घटना घटेमा त्यसको क्षतिपूर्ति दिन्छु भन्छ, यदि कुनै घटना घटेन भने अन्तिममा गएर बोनससहित दिन्छु भनेको छ, यो विषय बीमा कम्पनीहरुले बुझाउनै सकेनन्”, अध्यक्ष सिलवालले भनेका छन् ।

मानिसहरुले बीमा पोलिसी बैंकका स्कीमसँग तुलना गर्दा सरेन्डर बढ्न थालेको कतिपयले भनाई छ । बैंकिङ क्षेत्रमा भएको ब्याजदरको वृद्धि र आकर्षक स्कीमहरुको कारण पनि मानिसहरु बैंकिङ्ग क्षेत्रतर्फ आर्कषित थालेको देखिन्छ ।

साथै, आर्थिक मन्दीको कारण पनि बीमा पोलिसी त्याग्नेहरुको दर बढेको बीमा विश्लेषकहरुको भनाई छ । आर्थिक मन्दीको कारण कतिपयको व्यवसायहरु समस्यामा परेका छन् भने कतिपयको रोजगारी गुमेको छ । जसको कारण पनि पोलिसीका निम्ति रकम जुटाउन नसक्दा त्याग्नेहरु बढेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट