काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको लागि लाखौं जनता सडकमा उतार्ने जिकिर गरेका छन्।
समाजवादी मोर्चाले आइतबार हेटौंडामा आयोजना गरेको सन्देश सभामा बोल्दै उनले संघीयता, गणतन्त्रमाथि प्रतिक्रियावादीहरूले प्रहार गरिरहेको भन्दै त्यसविरूद्ध जनता सडकमा उतार्ने जिकिर गरेका हुन् ।
‘प्रतिक्रियावादी शक्तिहरूले संघीयता, गणतन्त्रलाई होच्याउने गरिरहेका छन् । अपमानित गरिरहेका छन् । प्रहार गरिरहेका छन् । जनयुद्ध, जन आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्न समाजवादी मोर्चा बनाएको हो’, उनले भने, ‘अहिले त हामीले कार्यक्रम कोठामा गरिरहेका छौं । केहि समयमा प्रतिक्रियावादीहरूको सातो जानेगरी सडकमा लाखौं जनता उतार्छौं ।’
कार्यक्रममा समाजको एक तप्कालाई सरकारले चालेको सुशासनको अभियान मन नपरेको उनले जिकिर गरे ।
कुशासनबाट फाइदा लिइरहेकाहरू सुरुदेखि नै अभियानबाट आत्तिएको उनले बताए । तिनीहरूबाट नै अहिले एक खालको दबाब महशुस भएको उनको बुझाइ छ ।
‘सरकारले चालेको सुशासन अभियानबाट आत्तिएकाहरूबाट सुरुदेखि नै एक खालको दबाब महशुस गरिरहेको छु’,
प्रचण्डले भने, ‘प्रधानमन्त्रीविरूद्ध अदालतमा मुद्दा दायर भएको छ । अभियानबाट समाजका एक तप्का आतंकित छन् । यो सामान्य कुरा होइन ।’
तर सरकारको अभियानमा माधव, विप्लव र जसपाको बलियो साथ रहेकाले आफूमा आत्मबल बढेको उनले बताए ।