काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न चीन भ्रमणको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७ बुँदे सुझाव दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (आइतबार) आयोजना गरेको सर्वदलीय बैठकमा ७ बुँदे लिखित सुझाव दिएको रास्वपा उपसभापति डीपी अर्यालले जानकारी दिए ।
चीनले सार्वजनिक गरेको नक्सामा नेपालको चुच्चे नक्सा नसमेटिएको विषयमा जनताले थाहा पाउनेगरी कुरा उठाउन सुझाव दिइएको अर्यालले बताए । यस्तै उत्तरी सीमा नाका खुला गर्ने विषयमा पनि रास्वपाले सुझाव दिएको छ । ‘भारत भ्रमणमा जाँदा जस्तो जम्बो टिम नलैजान पनि सुझाव दिएका छौं’ अर्यालले भने।
भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जान लागेका प्रचण्ड त्यतैबाट असोज ४ गते चीन भ्रमणमा जाने कार्यक्रम छ ।
सर्वदलीय बैठकमा आसन्न चीन भ्रमणका बेला सरकारले अपनाउनु पर्ने सावधानीबारे सल्लाह सुझाव आएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए ।