काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आफूसँगै संयुक्त राज्य अमेरिका जाने भ्रमण टोलीमा अब ५ जना मात्र रहने भएका छन्।
उनले प्रधानमन्त्री कार्यालयबाट अमेरिका भ्रमणका लागि जान भनेर यसअघि निर्णय गरिएका २४ जनाको संख्या घटाएर ५ सदस्यीयमात्रै बनाउन मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्।
प्रधानमन्त्रीसँग अब एक जना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुई जना सुरक्षाकर्मीमात्रै हुने छन्। स्वकीय सचिवबाट पनि को जाने भनेर अहिलेसम्म टुंगो नलागिसकेको र सम्भवतः गंगा दाहाल नै जाने प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।