काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार १९.४२ अंकले घट्दै बजार १९६७.५७ को बिन्दुमा झरेको छ ।
यसअघि आइतबार १०.२३ अंकले बढेको थियो भने सोमबार ४४.३० अंकले बढेको थियो ।
घटेको बजारमा कारोबार रकम पनि घटेको छ । मंगलबार ३९ लाख १६ हजार १६१ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १३ करोड ५० लाख रुपैयाँको भयो ।
आइतबार सामूहिक लगानी बाहेक सबै समूह राताम्मे बने । मंगलबार सबैभन्दा धेरै होटल तथा पर्यटन समूहका लगानीकर्ताले नाफा गुमाए ।
समग्रमा २२८ कम्पनीमध्ये १९१ कम्पनीका लगानीकर्ताले नाफा गुमाए । ३३ कम्पनीका लगानीकर्ताले केही राहत पाउँदा चार कम्पनीको मूल्य भने यथास्थितिमा रह्यो ।
घटेको बजारमा पनि शुभम् पावर लिमिटेडको सकारात्मक सर्किट लेबलमा कारोबार भयो भने साम्लिङ्ग पावर, उपर साङ्गी, अरुण काबेलीलगायतको मूल्यमा उच्च अंकले बृद्धि भयो ।
थ्रीस्टार हाइड्रो पावर कम्पनीको मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
मंगलबार कारोबार रकमका हिसाबले सबैभन्दा धेरै एसबीआई बैंकको भएको छ भने शिवम् सिमेन्ट, एभरेष्ट बैंक, आइएमई लाइफ इन्स्योरेन्स, सोल्टी होटलको कारोबार उच्च रहेको छ ।