हरियो रेल लिएर पुटिनलाई भेट्न रुस पुगे किम-Sutra News

हरियो रेल लिएर पुटिनलाई भेट्न रुस पुगे किम

मंगलबार, २६ भाद्र २०८०

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं । उत्तर कोरियाली नेता किम जोङ उन बुले‍टप्रुफ रेल चढेर रुस पुगेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा उनी मंगलबार रुस पुगेका हुन् ।



दक्षिण कोरियाको रक्षा मन्त्रालयले किमको रेल मंगलबार बिहान रुसी भूमिमा प्रवेश गरेको बताएको छ । रुसी राज्य समाचार समिति रिया नोवोस्तीले पनि किम रुस प्रवेश गरेको पुष्टि गरेको छ । जसबारे नोवोस्तीले केही तस्बिरहरु पनि सार्वजनिक गरेको छ ।

नोवोस्तीले सार्वजनिक गरेको तस्बिरअनुसार गाढा हरियो डिब्बासहितको उत्तर कोरियाली रेलबाट रुसी भूमिमा किम ओर्लिरहेका छन् । रातभर यात्रा गरेर नेता किम रुस पुगेको बताइएको छ ।

उनको साथमा कोरियाली सशस्त्र फौजको समूह पनि छ । किमले वरिष्ठ सैनिक अधिकारीहरुलाई पनि साथमै लिएर गएका छन् ।

रुसी सञ्चार माध्यमले जनाएअनुसार किमले यसै साताको अन्त्यमा मात्रै पुटिनसँग भेटवार्ता गर्नेछन् । राष्ट्रपति पुटिन हाल वार्षिक आर्थिक मञ्चमा भाग लिने सिलसिलामा रुसको सुदूरपूर्वी शहर भ्लादिभोस्तोकमा छन् । जसको कार्यक्रम सम्पन्न भएपश्चात मात्रै पुटिनले किमलाई भेट्नेछन् ।

भेटको अर्थ

विशेषतः पश्चिमा शक्ति राष्ट्रले रुस र उत्तर कोरियालाई घेराबन्दीमा पारिरहेका छन् । अमेरिका र उत्तर कोरियाबीच विवाद रहेकै बखत युक्रेनको नामबाट सुरु युद्धले रुस अप्ठ्यारोमा छ । अमेरिकाले नेटो समर्थित राष्ट्रहरुको सहयोगमा रुसलाई एक्ल्याउने र घेराबन्दीमा पार्ने प्रर्यत्न गरिरहेको छ ।

पश्चिमा शक्तिको घेराबन्दीका बीच यतिबेला रुसले चीन र उत्तर कोरियासहितका राष्ट्रसँग बेग्लै एलायन्सको प्रयत्न गरिरहेको छ । किमको भ्रमण पनि सोही रणनीतिमा लक्षित भएको विश्लेषण जानकारहरुले गरेका छन् ।

युक्रेन युद्धमा अल्झिएको रुसलाई केही साना तथा छोटो दुरीका हतियारको खाँचो छ । यस्तोमा रुसले उत्तर कोरियासँग साना र आधुनिक खालका हातहतियार र एन्टिट्यांक मिसाइलहरू खोजिरहेको छ । सञ्चार माध्यमहरुले उल्लेख गरेअनुसार जसको बदला रुसले उपग्रह र आणविक शक्तिबाट सचालन हुने पनडुब्बी प्रविधि दिने प्रस्ताव गरेको छ ।

यद्यपि रुसले वैश्विक एवम् क्षेत्रीय मामिलामा दुई देशका नेताले वार्ता गर्ने बताएको छ । पश्चिमा प्रतिबन्धबाट पिरोलिएको उत्तर कोरियाले रुससँग खाद्यान्नलगायत अन्य मानवीय सहायताका निम्ति अनुरोध गर्ने बताएको छ ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले दुई नेताबीच ‘संवेदनशील’ विषयमा छलफल गर्ने बताएका छन् । “छिमेकीका रूपमा यो स्पष्ट छ, हाम्रा देशबीच संवेदनशील क्षेत्रमा सहयोग हुन्छ, जुन सार्वजनिक खपतको विषय हुनु हुँदैन । छिमेकी देशका लागि सामान्य हो,” उनले भनेका छन् ।

अमेरिकाले युक्रेन युद्धका लागि मस्कोलाई हतियार उपलब्ध गराएमा उत्तरले त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिइरहेको छ । जसबारे पेस्कोभले “वासिङ्टनको चेतावनीको कुनै अर्थ नहुने” टिप्पणी गरेका छन् ।

किम चार वर्षअघि पनि रुस गएका थिए । तर, रुससँगको वार्ता विफलभएपछि उनले तात्कालिक अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गरेका थिए । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट