काठमाडौं । काडमाडौंको भृकुटीमण्डपमा सवारीसाधनहरूको कुम्भ मेला ‘नाडा अटो शो–२०२३’ सुरु भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १५ औं नाडा अटो शोको उद्घाटन गरेका छन् ।
मंगलबार मेलाको उद्घाटन गर्दै अर्थमन्त्री महतले अर्थतन्त्रभित्र देखिएको शिथिलता हट्दै गएको दाबी गरे । उनले मुलुकको राजस्व र समग्र अर्थतन्त्रमा सवारी साधनले ठूलो योगदान गरेको चर्चा गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै महतले विद्यूतीय सवारीसाधनको प्रबर्द्धनतर्फ लाग्न पनि आग्रह गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष ध्रुब थापाले अटो क्षेत्र मैत्री नीतिहरु नभएको कारण व्यवसायी समस्यामा परिरहेको बताए । देशभित्रै एसेम्बल गर्नेतर्फ व्यवसायी अग्रसर रहेको भन्दै उनले यस्ता उत्पादनलाई प्रवर्द्धन गर्न सरकारको नीति चाहिने बताए ।
दुई पांग्रे, चारपांग्रे सवारी देखि ब्याट्रीसम्म देशभित्रै उत्पादन भइरहेको अध्यक्ष थापाको भनाइ छ । विद्युतीय गाडीमा कर बढाएर आफ्नै नीति विपरीत कार्य गरेको भन्दै सवारी साधनान किन्दा दिइने कर्जालाई पनि कसिलो गरिएकोप्रति थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सरकारले वेवास्ता गरेको आरोप लगाए । निजी क्षेत्रलाई वेवास्ता गरिएकै कारण अर्थतन्त्रमा समस्या परेको उनको भनाई छ ।
मंगलबारदेखि सुरु मेलामा सबै प्रकारका सवारीसाधन तथा तिनका पार्टपूर्जाका स्टलहरु राखिएका छन् । मेलामा कुल १२० स्टल रहेका छन् ।
१६ ब्राण्डका चार पांग्रे, २२ ब्राण्डका दुई पांग्रे, ७ ब्राण्डका हलुका कमर्सियल गाडी तथा केही बैंक तथा वित्तीय संस्थाका स्टल प्रदर्शनीमा राखिएको छ । विभिन्न लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जाका ३० वटा स्टल राखिएको छ ।