श्रीलंकाका २० वर्षीय बलरले लिए भारतका खतरनाक ५ ब्याट्सम्यानको विकेट-Sutra News

श्रीलंकाका २० वर्षीय बलरले लिए भारतका खतरनाक ५ ब्याट्सम्यानको विकेट

मंगलबार, २६ भाद्र २०८०

काठमाडौं। श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनिथ वेलालेजले एसिया कपको सुपर फोर खेलमा भारतका प्रमुख पाँच ब्याटरको विकेट लिएका छन्।

कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ३७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ। अक्षर पटेल १ र रविन्द्र जडेजा ३ रनमा क्रिजमा छन् । हाल वर्षाले खेल अवरुद्ध भएको छ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रनको साझेदारी गरेका थिए । दुनिथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै श्रीलंकालाई पहिलो सफलता दिलाए।

दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । कोहली मिडअनमा क्याच आउट हुन पुगे ।

१६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई ५३ रनमा बोल्ड आउट गरे। लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । राहुलले ४४ बलमा २ चौका प्रहार गरे ।

उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएका थिए । हार्दिक एज लागेर आउट हुन पुगेका थिए ।

उनको यो श्रीलंका क्रिकेट टोलीबाट पहिलो पाँच विकेट हो । दुनीथ वेलालेजले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । श्रीलंकाका प्रमुख स्पिनर वानिन्दु हसरंगा चोटका कारण टोलीमा नहुँदा उनले खेल्ने मौका पाएका छन् ।

समूह चरणमा अफगानिस्तानलाई दुई रनले हराउन उत्कृष्ट प्रदर्शन गरेका थिए । अफगानिस्तानलाई हराउन दुनिथले ३३ रन बनाउनुको साथै २ विकेट लिएपछि श्रीलंकाले सुपर फोरमा स्थान बनाएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
      ताजा अपडेट
      सम्बन्धित समाचार

      ताजा अपडेट