काठमाडौँ। एसिया कप–२०२३ को सुपर फोरमा भारतले लगातार दोस्रो जित निकालेको छ । भारतले मंगलबार भएको खेलमा घरेलु टिम श्रीलंकाविरुद्ध ४१ रनको जित निकालेको हो ।
श्रीलंकाको आर प्रेमादसा रंगशालामा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४१।३ ओभरमा १७२ रनमै समेटियो ।
श्रीलंकाका दुनिथ वेलालागेले ४२ रन बनाए । धनञ्जय डी सिल्भाले ४१, चरिथ असलंकाले २२, सदीरा समाराविक्रममाले १७ र कुशल मेन्डिसले १७ रन जोडे ।
श्रीलंकालाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले चार विकेट लिए । रविन्द्र जडेजा र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा मोहम्मद सिराज र हार्दिक पन्ड्याले एक–एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको भारतले ४९.१ ओभरमा सबै विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो ।
भारतका कप्तान रोहित शर्माले ५३ रन बनाएका थिए । उनले ४८ बलमा सात चौका र दुई छक्का प्रहार गरेका थिए । केएल राहुलले ३९, इशान किशनले ३३, अक्सर पटेलले २६ र सुभमन गिलले १९ रन बनाए ।
भारतविरुद्ध श्रीलंकाका दुनिथ वेलालागेले पाँच विकेट लिएका थिए । १० ओभर बलिङ गरेका दुनिथले एक मेडन राख्दै ४० रन खर्चिएका थिए । चरिथ असलंकाले चार विकेट लिँदा महिस थिक्षणाले एक विकेट लिए ।
प्रतियोगिताको सुपर फोरमा लगातार दोस्रो जित निकालेको भारतले फाइनल सम्भावनालाई बलियो बनाएको छ । शीर्ष स्थानको भारतको चार अंक छ । समान खेलबाट दुई अंक जोडेको श्रीलंका तालिकाको दोस्रो स्थानमा छ ।