आइफोन १५ सार्वजनिक, कुन माेडलकाे मूल्य कति ?-Sutra News

आइफोन १५ सार्वजनिक, कुन माेडलकाे मूल्य कति ?

बुधबार, २७ भाद्र २०८०

बुधबार, २७ भाद्र २०८०

काठमाडाैं । लाेकप्रिय एप्पल कम्पनीले आइफोन १५ सिरिज सार्वजनिक गरेको छ। मंगलबार विशेष कार्यक्रमका बीच कम्पनीले आइफोन १५ सिरिज सार्वजनिक गरेको हो।



कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ। आइफोन १५ सिरिजसँगै कम्पनीले एप्पल वाच अल्ट्रा २ र एप्पल वाच सिरिज ९ पनि सार्वजनिक गरेको छ।

सार्वजनिक सिरिजअन्तर्गत आइफोन १५ र आइफोन १५ प्लस १२८ जिबी, २५६ जिबी र ५१२ जिबीमा उपलब्ध हुनेछ भने आइफोन १५ प्रो मा १ टिबी स्टोरेज क्षमता भएको भेरियन्टसम्म उपलब्ध हुनेछ । आइफोन १५ प्रो म्याक्स २५६ जिबी स्टोरेज क्षमतादेखि १ टिबी क्षमतासम्मको भेरियन्टमा उपलब्ध हुने जनाइएकाे छ ।

कम्पनीले आइफोन १५ को सुरुवाती मूल्य ७९९ अमेरिकी डलर तोकेको छ। यस्तै, आइफोन १५ प्लसको सुरुआती मूल्य भने ८९९ अमेरिकी डलर, आइफोन १५ प्रोको ९९९ अमेरिकी डलर र आइफोन १५ प्रो म्याक्सको मूल्य १,१९९ अमेरिकी डलर ताेकेकाे छ ।

आइफोन १५ मा ६.१ इन्च र आइफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले स्क्रिन दिइएको छ ।

यसअघि आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि बनिरहेकाे थियाे । तर, आइफोन १५ एप्पलले यसलाई परिवर्तन गरेको छ । कम्पनीले आइफोन १५ सिरिजमा युएसबी–सी केबल प्रयाेग गरेकाे छ ।

आइफोन १५ दुइ माेडलमा ए१६ बायोपिक प्रोसेसर उपलब्ध गराइएकाे छ भने आइफोन १४ प्रो र प्रो म्याक्समा पनि यही प्रोसेसर दिइएको छ ।

आइफोन १५का मोडलहरू गुलाबी, पहेंलो, हरियो, निलो र कालो गरी पाँच विभिन्न रंगमा सार्वजनिक गरिएको छ ।

कम्पनीले यही शुक्रबारदेखि प्रि-अर्डरसमेत सुरू गर्ने बताएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट