काठमाडौं । अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आयोजना गरेको ‘अटो शो–२०२३’ को तेस्रो दिनसम्म आइपुग्दा शोमा अवलोकन गर्ने ग्राहक तथा दर्शकहरुको संख्या निकै उत्साहजनक छ । बिहीबारसम्म २५ हजार बढी ग्राहक तथा दर्शकले शो अवलोकन गरेको एक्सपो आयोजकले जनाएको छ ।
अटो शोमा आएका अधिकांश ग्राहक तथा दर्शकहरुको रोजाई ईभी गाडी भएको नाडा अटो शोमा स्टल राख्ने व्यवसायीहरुको भनाइ छ । तेस्रो दिनसम्म एक हजारभन्दा धेरै गाडी बुकिङ भएको नाडाका अध्यक्ष ध्रुब थापाले जनाए । भने शो ३१ गतेसम्म चल्ने भएकाले बुकिङ हुने क्रम अझै जारी छ ।
अध्यक्ष थापाका अनुसार अटो शो अपेक्षा भन्दा पनि राम्रो भइरहेको छ । “हामी सोचे भन्दा पनि राम्रो अटो शो राम्रो भयो, भिजिटर पाउँछ कि पाउँदैन, गाडी बुकिङ हुन्छ कि हुँदैन भन्ने डर थियो, तर अटो शो सोचे भन्दा पनि राम्रो भयो”, उनले भने ।
अटो शोमा ग्राहक तथा दर्शकहरुको उत्साहजनक उपस्थिति भएकाले यसले अटो व्यवसायको क्षेत्रमा सकारात्मक अवस्था ल्याउनुका साथै देशकै अर्थतन्त्रमा सकारात्मक भाइब्रेसन सिर्जना गर्ने अध्यक्ष थापाले बताएका छन् ।
शोमा आएका धेरै ग्राहक तथा दर्शकहरुको अभिरुची पनि इभी गाडीमा गएको देखिन्छ । अध्यक्ष थापाका अनुसार चारपाङ्ग्रे प्यासेन्जर सेग्मेन्टमा विद्युतीय सवारीसाधनको प्रयोगमा नेपालले ग्लोबल ट्रेण्डलाई नै उछिनेको छ तर, उपभोक्ता तयार भई नसकेको देखिएको छ । उनले चार पाङ्ग्रेमा नेपाल नर्वेजस्तो सबैभन्दा धेरै विद्युतीय गाडी मात्रै चलाउने देशभन्दा पनि हामी अघि बढिसकेको बताएका छन् ।