लिबिया बाढी : एकै नगरमा एघार हजार बढीकाे मृत्यु-Sutra News

लिबिया बाढी : एकै नगरमा एघार हजार बढीकाे मृत्यु

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडाैं । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको संख्या एघार हजार तीन सय पुगेको छ । पूर्वी शहर डेर्नामा यति धेरैले ज्यान गुमाएका लिबियाली रेडक्रसका एक अधिकारीले बताएका छन् ।



डेर्नामा मात्र अझै दश हजार एक सय जना हराइरहेका छन् भने देशका अन्य भागबाट दशौँ हजार वेपत्ता भएका तथा ५० हजारभन्दा बढी विस्थापित भएका छन् । गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन ।

बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय संगठन (आईओएम)ले जनाएको छ । नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवम् सामाजिक संघसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको छ ।

यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधचअनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्यांकमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् ।

डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट