गृहमन्त्रीलाई हर्क साम्पाङको पत्र : डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिनू-Sutra News

गृहमन्त्रीलाई हर्क साम्पाङको पत्र : डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिनू

शुक्रबार, २९ भाद्र २०८०

शुक्रबार, २९ भाद्र २०८०

काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले इलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी नवराज मल्ललाई तत्काल सरुवा गरिदिन माग गरेका छन्। उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पत्र लेख्दै सरुवा गरिदिन अनुरोध गरेका हुन्।

‘इलाका प्रहरी कार्यालय, धरानमा कार्यरत प्रहरी नायव उपरीक्षक ९डीएसपी० नवराज मल्लले स्थानीय सरकारले भनेको नमान्ने, पत्र नपठाइ केही गर्न नमान्ने, ढुंड्डा गिट्टी तस्करलाई प्रकाउ गर्न जान नमान्ने, स्थानीय शान्ति सुरक्षामा केही नगर्ने, स्थानीय सरकारको सुरक्षा गर्न नसक्ने…,’ मेयर साम्पाङले भनेका छन्, ‘… सार्वजनिक जग्गा अतिक्रमण तस्करको अराजकता गतिविधि रोक्न प्रहरीको सहयोग माग्दा समयमा कहिले नआउने, ढिलो आएर पर बसेर मुकदर्शक बन्ने …’,

मल्लमाथि उनले आफूलाई गाली बेइजती र आक्रमण गर्न खोज्ने मान्छेलाई प्रकाउ गरी छानबिन गर्न नमानेको आरोप पनि लगाएका छन्।

‘नगर प्रमुख स्वयम्‍ले दिएको उजुरी दर्ता नगर्ने लगायत मेरो घरमा आक्रमण गर्दैछ भनेर उपमेयरले जानकारी गराउँदा प्रहरी नपठाएर स्थानीय सरकारको आदेश पालना नगर्ने र शान्ति सुरक्षामा बिलकुल चासो नदिने भएकोले जनतासँग प्रत्यक्षरुपमा जोडिने स्थानीय सरकार के शान्ति सुरक्षा गर्न नसकी मुकदर्शक बन्ने डीएसपी मल्ललाई तुरुन्त सरुवा गरी अर्को पठाइदिनहुन अनुरोध छ।’

पछिल्लो समय एकपछि अर्को विवादमा पर्दै आएका मेयर साम्पाङले आफूले भनेको नटेरेपछि मल्लको सरुवामा जोड गरेका हुन्।

पछिल्लो पटकको खुकुरी हानाहान प्रकरणमा बेघा पक्षका ३ जना र अर्को समूहका ५ जनालाई इलाका प्रहरी कार्यालय धरानले हिरासतमा लिएको छ।
बेघाले खुकुरी हानेपछि गम्भीर घाइते सन्देश राईको बयानका आधारमा उपमेयरका भाइ पनि समातिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार

    ताजा अपडेट