काठमाडौं । असोज महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदरको सिण्डिकेट खारेजीसँगै बैंकहरुले आ–आफ्नो ढंगले ब्याजदर तोकेका छन् । जसअनुसार केही बैंकको ब्याज बढेको छ भने केही बैंकको घटेको छ । कतिपयको भने यसअघिकै कायम छ ।
असोजका लागि ब्याजदर सार्वजनिक गरेका १७ वाणिज्य बैंकमध्ये सात वाणिज्य बैंकले ब्याज बढाएका छन् भने छ वाणिज्य बैंकले घटाएका छन् । चार वटा बैंकले भने भदौकै ब्याजदरलाई कायम राखेका छन् ।
नबिल बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन् । सबैभन्दा बढी ब्याजदर बढाउनेमा हिमालयन बैंक रहेको छ । जसले १.०६४ प्रतिशतले बढाएको छ ।
ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले भने ब्याजदर घटाएका छन् । जसमध्ये सरकारी लगानीसमेत रहेको नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशत ब्याज घटाएको छ।
अन्य बैंकले ब्याजदर घटबढ गराइरहँदा प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकहरुको ब्याजदर घटाउन दबाब दिँदै आएका थिए । महतले सार्वजनिकरुपमै बैंकहरुको ब्याजदर एक अंकमा झार्नुपर्ने बताइरहेका थिए । तथापी उनको दवाबका बाजदुर पनि कतिपय बैंकको भने ब्याजदर बढेको छ ।
कुनकाे कति ब्याजदर ?