किन बढ्दैछ मुटुरोगको समस्या ?-Sutra News

किन बढ्दैछ मुटुरोगको समस्या ?

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

विश्वमा अधिकांश मानिसको मृत्युको कारण मुटुरोग बन्ने गरेको छ । विश्व स्वास्थ्य संघको तथ्यांकअनुसार पनि मृत्यु हुनेमध्ये ६० प्रतिशतले मुटुरोगकै कारण ज्यान गुमाउँछन् । तथ्यांकअनुसार प्रत्येक वर्ष विश्वमा झण्डै दुई करोड मानिसले मुटुरोगको कारण ज्यान गुमाइरहेका छन् । जुन दर बढ्दो क्रममा समेत छ ।



जसलाई हेर्दा, स्पष्ट हुन सकिन्छ मुटुरोगको समस्या निकै गम्भीर खालको छ । तर, मृत्यु मुख्य कारण बनिरहेको मुटु रोगबारे भने गम्भीररुपमा चर्चा तथा बहसहरु भइरहेको छैन । यसका निराकरणका उपायबारे पनि गहिरो खोजी हुन सकिरहेको छैन । यहाँ मुटु रोग निम्तिनुका कारण र यसको निराकरणबारे चर्चा गरिएको छ ।

किन कमजोर हुँदैछ मुटु ?

जब मुटु स्वस्थ हुन्छ, यसले फोक्सोबाट अक्सिजनयुक्त रगत संकलन गर्छ र शरीरको बाँकी भागमा सजिलै पम्प गर्छ । तर, मुटु कमजोर हुँदा यसको काम राम्ररी हुँदैन । कमजोर मुटु मुटुको लागि मात्र नभएर सम्पूर्ण शरीरको लागि हानिकारक हुनसक्छ ।

विशेषज्ञहरुका अनुसार मुटुलाई कमजोर बनाउने धेरै कारकहरू हुनसक्छ । यसमा कोरोनरी आर्टरी डिजिज सबैभन्दा प्रख्यात छ । जब कुनै व्यक्तिलाई धमनीमा अवरोधका कारण मायोकार्डियल इन्फेक्शन (हृदयघात) हुन्छ, मुटुको मांसपेशीको एक भाग क्षतिग्रस्त हुन्छ र यसले पम्पिङ्ग डिसफंक्शन निम्त्याउँछ । यो अवस्थाले मुटुलाई सामान्य रूपमा काम गर्न गाह्रो बनाउँछ ।

त्यसैगरी, मेटाबोलिक समस्याले पनि हृदय रोगको जोखिमलाई निम्त्याउन सक्छ । मेटाबोलिक विकारहरू जस्तैः मधुमेह, मोटोपना, र हाइपोथाइराइडिज्मले भविष्यमा कार्डियोमायोप्याथीको जोखिम बढाउँछ ।

मुटुको समस्या बढाउने केही अवस्थाहरू छन्, जसमा उच्च रक्तचाप, भल्भ रोग, थाइरोइड रोग, मृगौला रोग, मधुमेह वा जन्मजात मुटुमा हुने दोषहरू पर्दछन्। यी सबैले समयसँगै मुटुलाई कमजोर बनाइदिन्छ । मुटुको मांसपेशीमा दबाबका कारण यसको जोखिम बढी हुन सक्छ ।

कसरी जोगाउने मुटु ?

विशेषज्ञहरुले बताएअनुसार विशेषतः खानपान र जीवनशैलीको कारण मुटु रोग बढ्दो छ । यदि खानपान र जीवनशैलीलाई सच्याइयो भने यसलाई कम गर्न सकिन्छ ।

मुटुलाई स्वस्थ र बलियो बनाउन उच्च रक्तचापको समस्यालाई नियन्त्रण गर्नु आवश्यक हुन्छ । उच्च रक्तचापको अवस्थामा मुटुले साँघुरो नसाहरूबाट रगत पम्प गर्न कडा मेहनत गर्नुपर्छ, जसले अंगलाई कमजोर बनाउँछ । यस बाहेक यदि तपाई अधिक तनाव लिनुहुन्छ भने यो पनि तपाईको मुटुको लागि राम्रो हुँदैन ।

विशेषज्ञ आफ्नो लक्षणहरू निगरानी गर्न, नियमित तौल र रक्तचाप जाँच गर्न सुझाउँछन् । यदि तपाईंको तौल बिनाकारण बढिरहेको छ वा ब्लड प्रेसर प्रायः नियन्त्रणमा छैन भने अवश्य यसबारे डाक्टरसँग परामर्श लिनुपर्ने हुन्छ । थोरै सावधानीले तपाईंलाई भविष्यमा गम्भीर स्वास्थ्य समस्याहरूको जोखिमबाट बचाउन लामो बाटो जानसक्छ । एजेन्सीबाट

सम्बन्धित समाचार

हृदयघात हुँदै गर्दा यस्ता देखिन्छन् संकेत, ध्यान दिए जाेगिन सक्छ ज्यान

ब्लड ग्रुपअनुसार मुटु राेगकाे जाेखिम : कुन ग्रुपलाई बढी जाेखिम ?

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट