शेयर बजारमा पहिरो : उच्च अंकले घट्यो अधिकांश कम्पनीका मूल्य-Sutra News

शेयर बजारमा पहिरो : उच्च अंकले घट्यो अधिकांश कम्पनीका मूल्य

आइतबार, ३१ भाद्र २०८०

आइतबार, ३१ भाद्र २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आइतबार ४२.१४ अंकले घट्दै बजार १९६४.९१ को बिन्दुमा झरेको छ । आइतबार समग्रमा बजार २.०९ प्रतिशतले घट्यो ।



उच्च अंकले घटेको बजारमा फाइनान्स, होटल तथा पर्यटन र व्यापार क्षेत्रमा तीन प्रतिशतभन्दा बढीले गिरावट आयो भने विकास बैंक, हाइड्रो, लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्यारेन्स क्षेत्रमा दुई प्रतिशतभन्दा बढीले गिरावट आयो ।

कारोबार भएका २२७ कम्पनीमध्ये २१३ कम्पनीको मूल्य घट्यो । उच्च अंकले घटेको बजारमा पनि ११ कम्पनीको मूल्य भने केही अंकले बढेको छ । जहाँ चार कम्पनीको मूल्य स्थिर रहेको छ ।

बिक्रिकर्ता झुम्मिँदा कारोबार रकम बढ्यो

आइतबार उच्च अंकले घटेको भएपनि कारोबार रकम भने एक महिनायताकै उच्च रह्यो । आइतबार ५६ लाख ५९ हजार ४५८ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब दुई करोड ८४ लाख रुपैयाँको भयो ।

जुन स्तरको कारोबार साउन ३० मात्रै भएको थियो । त्यसयता बजारसँगै कारोबार रकम पनि निरन्तर एक अर्बको हाराहारीमा थियो ।

आइतबार बिक्रीकर्ता झुम्मिँदा कारोबार रकम बढ्न गएको हो । आइतबार मात्रै दोस्रो बजारमा कारोबार सुरु भएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शेयर किनबेचका आधारमा सबैभन्दा अग्रस्थानमा छ ।

रिलायबलको चार लाख ८७ हजार १८६ कित्ता किनबेच हुँदा २४ करोड ५२ लाख ९३ हजार रुपैयाँको भयो ।

आइतबार मात्रै बैंकहरुले असोज महिनाका लागि ब्याजदर सार्वजनिक गरेका थिए । जसमा धेरैजसो बैंकको ब्याजदर बढेको छ ।
बैंकको ब्याजदर बढेको प्रभाव शेयर बजारमा परेको कतिपयको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट