काठमाडौं । विदेशी मुद्राको सञ्चित बढेको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबरको सञ्चिति रहेकोमा साउन मसान्तसम्म आउँदा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ पुगेको हो ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार सार्वजनिक गरेको वित्तीय अवस्थाको प्रतिवेदनअनुसार विदेशी विनियम सञ्चिति २.२ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा मुद्रा सञ्चिति ११ अर्ब ८५ करोड पुगेको छ ।
विदेशी मुद्राको सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
जनाइएअनुसार कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ८५ अर्ब २४ करोड छ भने अन्य बैंक तथा वित्तीय संस्थामा एक खर्ब ८७ अर्ब ८९ करोड रहेको छ ।
एक वर्षको आयात धान्न पर्याप्त
केन्द्रीय बैंकका अनुसार हाल रहेको विदेशी मुद्राको सञ्चितिले नेपालको आयातलाई एक वर्षसम्म धान्न सक्छ ।
प्रतिवेदनअनुसार साउन महिनामा भएको आयातको तुलना गर्दा विदेशी मुद्राको सञ्चिति १२.५ महिनालाई वस्तु आयात गर्न र १०.३ महिनालाई वस्तु तथा सेवा आयात गर्न पर्याप्त छ ।
प्रतिवेदनअनुसार साउन महिनामा एक खर्ब ३९ अर्ब २४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो भने १३ अर्ब ५३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको थियो ।
केन्द्रीय बैंकअनुसार अघिल्लो वर्षको तुलनामा आयात निर्यातमै कमी आएको छ । अघिल्लो वर्षको सोही अवधीको तुलनामा निर्यात २८.७ प्रतिशतले घटेको छ भने आयात १२.९ प्रतिशतले घटेको छ ।