काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालोमा छ । तीज नजिकिँदै गर्दा उकालोमा देखिएको मूल्य तीजको दिन पनि बढ्यो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार तीजको दिन (सोमबार) पनि सुनको मूल्य तोलामै दुई सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजाबी सुन एक लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य बढ्दा चाँदीको मूल्य पनि बढिरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चार दिनमै १३ सयले बढ्यो मूल्य
तीज नजिकिएसँगै बजारमा सुनको मूल्य उकालोमा थियो । पछिल्लो चार कारोबार दिनमा मात्रै एक हजार तीन सयले बढेको छ ।
भदौ २८ मा एक लाख ११ हजार दुई सय रुपैयाँ रहेको सुनको मूल्य भदौ २९ मा एक लाख ११ हजार आठ सय रुपैयाँ पुग्यो । त्यसयता भदौ ३१ मा आउँदा एक लाख १२ हजार तीन सय रुपैयाँ पुग्यो ।
भदौ ३१ आइतबार बढेको मूल्य सोमबार पनि बढ्यो ।