

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूँ पक्षीय समूहको भेला बोलाएका छन् । केन्द्रीय कार्यसमिति बैठकअघि मंगलबार उनले आफूँ पक्षीय समूहको भेला बोलाएका हुन् ।
कोइरालाले आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि भेला बोलाइएको जनाइएको छ । बताइएअनुसार असोज ४ मा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा आफ्नो समूहको एजेण्डा तय गर्न उनले भेला बोलाएका हुन् ।
समूहको भेलामा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि आमन्त्रण गरिएको बताइएको छ । यसअघि भदौ १७ मा कोइराला समूहका केही नेताहरु नेता अर्जुननरसिंह केसी निवासमा जम्मा भएका थिए । उक्त भेलामा विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र बलबहादुर केसीलगायतका नेताहरु पनि उपस्थित थिए ।
केसी निवासको भेलापछि कोइराला समूहले सरकारका विरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेको छ । समूहले सरकारको नेतृत्व फेर्नुपर्ने बताइरहेको छ । सभापति शेरबहादुर देउवालाई अप्ठ्यारो पार्ने कोइराला समूहको अभिव्यक्तिपछि कांग्रेसभित्र अहिले केही विवाद बढेको देखिन्छ ।