काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि आकासिएको छ । मंगलबारसम्म आउँदा सुनको मूल्य तोलाकै एक लाख १३ हजार रुपैयाँ पुगेको छ ।
नेपाल चाँदी व्यवसायी महासंघले जनाएअनुसार हालको मूल्य निकै उच्च हो । भदौ १८ मा पनि सुनको मूल्यले उचाई लिएको थियो । तर, त्यसयता केही घटेपनि तीज लागेसँगै भने फेरि मूल्य आकासिन थालेको थियो ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ ।
सुनको मूल्यसँगै चाँदीको मूल्य पनि केही बढेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाडपर्व आएसँगै सुनको मागमा बृद्धि हुने गर्दछ । मागमा बृद्धि हुँदा मूल्य बृद्धि भएको महासंघको भनाई छ ।