किन चिसियो भारत–क्यानडा सम्बन्ध ? के हो वास्तविक घटना ?-Sutra News

किन चिसियो भारत–क्यानडा सम्बन्ध ? के हो वास्तविक घटना ?

मंगलबार, २ असोज २०८०

मंगलबार, २ असोज २०८०

काठमाडौं । भारत र क्यानडाबीचको कुटनीतिक सम्बन्धमा निकै तिक्तता बढेको छ । दुवै देशले एक–अर्काका कुटनीतिज्ञलाई देश निकाला गरेका छन् । क्यानडाले आफ्ना कुटनीतिज्ञलाई देश निकाला गरेपछि भारतले पनि क्यानडाका कुटनीतिज्ञलाई देश छाड्न पत्र बुझाएको छ ।



सोमबार प्रधानमन्त्री जस्टिन टुडोको निर्देशनमा क्यानडाको विदेश मन्त्रालयले भारतीय कुटनीतिज्ञ पवनकुमार राईलाई देश छाड्न पत्र दिएको थियो । क्यानडाले आफ्ना कुटनीतिज्ञलाई देश निकाला गरेपछि बदलामा भारतले पनि एक जना क्यानडाका कुटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न भनेको छ । सञ्चारमाध्यमले जनाएअनुसार भारतको विदेश मन्त्रालयले मंगलबार देश छाड्न भन्दै ती कुटनीतिज्ञलाई पत्र पठाएको हो ।

एक–अर्काका कुटनीतिज्ञलाई देश निकाला गरेसँगै दुई देशबीचको कुटनीतिक सम्बन्ध निकै तिक्ततापूर्ण बनेको छ । आर्थिकदेखि विभिन्न विषयमा साझेदारी गरिरहेका भारत र क्यानडाबीचको सम्बन्ध बिग्रिँदा विश्वभर चिन्ता र चाँसो छाएको छ ।

के हो विवादको कारण ?

भारतले दबाउँदै आएको तर, ननिभेको स्वतन्त्र खलिस्तानको आन्दोलन वर्षौंदेखि चलिरहेको छ । जुन बेला–बेलामा उग्र शैलीमा देखिने र हराउने पनि हुँदै आएको छ । भारतले खलिस्तान आन्दोलन पश्चिमा शक्ति विशेषतः क्यानडाले उचालिरहेको आरोप लगाउने गरेको छ । यस्तोमा खलिस्तानी टाइगर फोर्स (केटिएफ)का प्रमुख हरदिप सिंह निज्जारको हत्या भएपछि विषय थप उचालिएको हो ।

गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बियामा निज्जरको हत्या भएको थियो । जुन हत्यामा भारत सरकारको संलग्नता रहेको क्यानडाको आरोप छ । सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदमा सम्बोधनका क्रममा भारत सरकारको एजेन्टले निज्जरको हत्या गरेको बताएका थिए । उनले उक्त घटना क्यानडाको सार्वभौमिकतामाथिको चुनौति भएको भन्दै सह्य नहुने बताएका थिए ।

ट्रुडोको संसद सम्बोधन लगत्तै क्यानडाको विदेश मन्त्रालयले भारतीय कुटनीतिज्ञलाई देश छाड्न निर्देशन गरेको थियो ।

सञ्चारमाध्यमले जनाएअनुसार जी–२० सम्मेलनमा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग क्यानडाका प्रधानमन्त्री ट्रुडो निज्जर हत्याबारे प्रश्न उठाएका थिए । तर, मोदीले उक्त विषयलाई वेवास्ता गरेपछि ट्रुडोले पछिल्लो निर्णय लिएको बताइएको छ ।

“हाम्रो देशको भूमिमा क्यानडाका नागरिकको हत्यामा विदेशी सरकारको हात हुनु अस्वीकार्य छ र यो हाम्रो सार्वभौमसत्ताको उल्लङ्घन हो”, सोमबार क्यानडाको संसदमा ट्रुडोले भनेका छन्, “यो लोकतान्त्रिक, स्वतन्त्र र खुला समाजहरू सञ्चालन गर्ने आधारभूत नियमहरूको विरुद्ध हो ।”

क्यानडामा भारतीय मूलका झण्डै १४ लाख बढी नागरिक बस्दछन् । तीमध्ये धेरैजसो शिख समुदायका मानिस छन् । खलिस्तान आन्दोलन चलेसँगै अधिकांश शिख भारतबाट विस्थापित भइ क्यानडा पुगेका थिए । क्यानडाबाटै उनीहरुले बेला–बेला आन्दोलनको घोषणासमेत गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट