काठमाडौं।रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलको यस सिजनको पहिलो खेलमा कठिन जित हात पारेको छ ।
समूह सीको खेलमा रियल मड्रिडले युनियन बर्लिनविरुद्ध १–० को कठिन जित निकालेको हो ।
बुधबार राति रियललाई जित दिलाउन जुड बेलिङघमले निर्णायक गोल गरे ।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा बेलिङघमले गोल गर्दै रियललाई महत्वपुर्ण तीन अंक दिलाएका हुन् ।
बोरुसिया डर्टमण्डबाट यसै सिजन रियल आएका बेलिङघमले स्पेनिस क्लबका लागि ६ खेलमा ६ गोल पुरा गरेका छन् ।
फेडरिको भाल्भर्डेको प्रहार फर्किएपछि खाली पोस्टमा बेलिङघमले गोल गर्न सफल भएका थिए ।
पहिलो पटक च्याम्पियन्स लिगमा उत्रिएको युनियनले अन्तिम मिनेट सम्हालिन नसक्दा रियलसँग पराजित हुन पुग्यो ।
समूह सीको अर्को खेलमा सिरि ए क्लब नापोलीले स्पोर्टिङ ब्रागालाई २–१ ले हरायो । समूहमा रियल मड्रिड र नापोलीले समान ३ अंक जोडेका छन् । ब्रागा र बर्लिङ अंक विहीन छन् ।