फुट नजिक एकीकृत समाजवादी : माधव र झलनाथबीचकाे विवाद उत्कर्षमा-Sutra News

फुट नजिक एकीकृत समाजवादी : माधव र झलनाथबीचकाे विवाद उत्कर्षमा

शुक्रबार, ५ असोज २०८०

शुक्रबार, ५ असोज २०८०

काठमाडौं । नेकपा एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी फुट नजिक पुगेको छ । आकारका हिसाबले राष्ट्रिय दलको समेत मान्यता नपाएको एकीकृत समाजवादीमा गुटगत समस्या बढ्दै जाँदा पार्टी फुटनजिक पुगेको हो ।



दुई वर्ष अगाडि मात्रै गठन भएको पार्टीमा अहिले पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालबिचको गुटगत टकराव उत्कर्षमा छ । पार्टी भेला र बैठक मात्रै होइन सार्वजनिक कार्यक्रममा समेत एकले अर्कालाई गाली गर्नु अध्यक्ष नेपाल र नेता खनालको दैनिकी नै बनेको देख्न सकिन्छ।

आउँदो माघमा महाधिवेशन गर्ने तयारीमा रहेको एकीकृत समाजवादीको नेतृत्वमा जान नेपाल र खनालको दौड छ । पार्टी नेतृत्वमा उदाउने तयारीमा लागेका खनालले पार्टीभित्रको आन्तरिक विवादलाई बाहिर ल्याईदिएपछि त्यसलाई सम्हाल्न अध्यक्ष नेपाललाई हम्मेहम्मे नै परेको छ ।

पार्टी अध्यक्ष नेपालले जारी गरेको अन्तरपार्टी निर्देशनप्रति असन्तुष्टि पोख्दै खनाल नेपालप्रति आक्रमक बनेका छन् । उनले अन्तरपार्टी निर्देशन पार्टी बैठककाे सहममतिभन्दा बाहिरबाट आएकाे बताएका छन्  । अपानिकै कारण पार्टी शिथिल बनेकाे उनकाे आरोप छ ।

“यो एकदमै खतरनाक कुरा हो । यसमा कसैको पनि सहमति छैन । पार्टीको कुनै कमिटीले गरेको निर्णय हुँदै होइन”, उनले भनेका छन्, “सहमतिबिना अपानी जारी भएको छ, याे अमान्य छ, याे लागु हुन सक्दैन ।”

जसबारे खनालले सार्वजनिकरूपमै अभिव्यक्ति दिइरहेका छन् । उनले कतिपय अध्यक्ष नेपालका अभिव्यक्तिकाे पनि विराेध गरेका छन् ।

खनालकाे अभिव्यक्तिप्रति अध्यक्ष नेपाल निकै असन्तुष्ट छन् । खनालकाे निरन्तर विराेधपछि अध्यक्ष नेपालले बिहीबार केन्द्रीय कार्यालयमा कार्यक्रम राखेर अनुशासनमा रहन सुझाएका छन् ।

“पार्टीभित्र अनेकौँ समस्याहरू हुन्छन्, ती समस्याहरू पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन”, बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपालले भनेका छन्, “केही समस्याहरू छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढंगले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् ।”

खनाल नेपालका हरेक क्रियाकलापलाई विरोध गर्दै आएका छन्। खनाल नेपालले पार्टी चलाएको बारेमा असन्तुष्ट छन् भने कांग्रेससँग गठबन्धन गरेकोमा बेखुसी छन्।

चार दलबीच बनेको समाजवादी मोर्चाको समेत खनाल विरोधमा छन्। उनी कांग्रेससँग छाडेर एमालेसँग मिलेर गठबन्धन गर्नुपर्ने बताउँदै आएका छन्। यति मात्र होइन, एमालेसँग एकता प्रक्रिया समेत बढाउनुपर्ने उनको कुरा छ।

खनाल समाजवादी मोर्चाकै पनि विरोध गर्दै आएका छन्। समाजवादी मोर्चाको घोषणासभामा थिए तर पनि उनी अहिले विरोधमा उत्रिएका छन्। उनी मोर्चाको ओचित्य देख्दैनन्। उनी समाजवादमा पुग्न यस्तो किसिमको मोर्चा बनाएर नहुने बताइरहेका छन्। पार्टीका दोस्रो स्तरका नेता भने पार्टी एक ढिक्का बनाउनुपर्नेमा जोड दिँदै आएका छन्।

पार्टी नेतृत्वका दुई नेताबीच नै टकराव भएपछि स्वतः पार्टी दुई खेमामा विभक्त छ। यसैले लामो समय यस्तो स्थिति आएमा पार्टी सकिएर जाने सुझाव दोस्रो स्तरका नेताको छ।

खासमा समाजजवादी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खोलिएको पार्टी हो। ओलीले एमालेमा स्पेस नदिँदा आक्रामक हुँदै खोलिएको सोही पार्टी अहिले आफैमा टाउको दुखाइ बनेको छ। खनाल र नेपालबीच पार्टीमा सैद्धान्तिकदेखि संगठनात्मक टकराव छ। यी दुई नेता आफू निकटलाई नेतृत्वमा ल्याउन समानान्तर कमिटी समेत गठन गर्न थालेका छन्।

ठूला नेताका यस्ता हर्कतले ठूलो दल नेकपा एमालेलाई फाइदा पुगेको चर्चा हुन थालेको छ। नेतृत्वमा किचलो बढेसँगै फेरि एमालेमै फर्किनेको पनि लहर चलेको छ। खनाल र नेपालको सिको गर्दै दोस्रो स्तरका नेताहरु पनि अहिले गुटगत राजनीतिमा लागेका छन्। यसैले पनि पार्टी झन् कमजोर हुने धेरैको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट