

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) साधारणसभा भोलि हुँदैछ। साधारणसँगै क्यानको नेतृत्व पनि भोलि नै चुनिँदैछ।
यसपटक क्यानमा फरक के छ भने नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का पनि आकर्षक पदमा प्रतिस्पर्धा गर्दैछन्।
खड्का निकट स्रोतका अनुसार उनी सचिव पदमा प्रतिस्पर्धा गर्दैछन्। अहिले केही बेरअघि खड्काले उम्मेदवारी घोषणा पनि गरेका छन्। क्यानमा मुख्य गरी दुवै प्यानलको भिडन्त हुने देखिएको छ।
क्यानको अध्यक्षमा चतुरबहादुरसँग विनय राजभण्डारी ले प्रतिस्पर्धा गर्दैछन्।
क्यानको उपाध्यक्ष पदका लागि अहिलेसम्म रोहन सिंह मात्रै मैदानमा देखिएका छन्। उनका प्रतिस्पर्धी नदेखिएकाले सर्वसम्मत हुने सम्भावना पनि छ।
उता सचिव पदमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बलिया दाबेदारका रुपमा देखिएका छन्। उनी चन्द प्यानलबाट सचिवमा उठ्ने पक्का भएको छ।
उनलाई क्यानका तत्कालीन कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले चुनौती दिँदैछन्। एनएसएल विवादपछि क्यानबाट बाहिरिएका मल्लको अहिलेसम्म प्यानल टुंगो लागेको छैन।
उता क्यानको कोषाध्यक्ष पदका लागि चन्द प्यानलबाट पदम खड्का मैदानमा देखिएका छन्। तर सकेसम्म सबै पदमा सहमति गराउने प्रयास पनि भइरहेको छ।
क्यानको निर्वाचनमा ८६ जनाले मतदान गर्दैछन्। जसमध्ये जित्नका लागि न्यूनतम् ४४ मत आवश्यक पर्छ।