चीनमा प्रचण्डको भव्य स्वागत-Sutra News

चीनमा प्रचण्डको भव्य स्वागत

शनिबार, ६ असोज २०८०

शनिबार, ६ असोज २०८०

चीन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन पुगेका छन् । शनिबार बिहान होङ्जाओ विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उपप्रधानमन्त्री हि ली फाङ आफैंले विमानस्थलमा स्वागत गरेका थिए ।



नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पहिलो पटक चिनियाँ उपप्रधानमन्त्री तहका पात्र विमानस्थलमा आएका हुन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थल आएका फाङ चीनको अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न भदौ ३० मा अमेरिका पुगेका थिए । अमेरिका पुगेका प्रचण्ड उतैबाट शनिबार बिहान चीनको होङजाओ विमानस्थलमा अवतरण गरेका हुन् ।

साताव्यापी चीन भ्रमणमा गएका प्रचण्डले शनिबार नै चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेट्ने कार्यक्रम छ ।

प्रचण्डको भ्रमण तालिकाअनुसार शनिबार दिउँसो ४ बजे प्रचण्ड र सीबीच औपचारिक भेटवार्ता हुनेछ । बताइअनुसार उक्त भेटवार्ता आधा घण्टाको हुनेछ ।

प्रचण्ड र सीबीच दुई देशको राजनीति, भूराजनीति र अन्तराष्ट्रिय क्षेत्रीय सम्बन्धका बारेमा छलफल हुने तयारी छ । उक्त भेटवार्तामा बीआरआई सम्झौताबारे पनि छलफल हुनसक्ने जनाइएको छ ।

सीसँगको भेटवार्तापछि प्रधानमन्त्री प्रचण्ड १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा पनि सहभागि हुने छन् ।

प्रधानमन्त्री प्रचण्डले आइतबार समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ। जसका लागि उनी बेइजिङ जानेछन् ।

बेइजिङमा नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्‍ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गर्दै प्रचण्ड असाेज १३ मा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट