काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले सुन तस्करी गरिरहेको आरोप लगाएका छन् ।
स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सुन तस्करी प्रकरण चलाउनेहरु आफैँले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे ।
‘सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँ त नुन पनि पाइँदो रहेनछ भन्ने कसैले भनेका छन् । यहाँ ब्रेक सुमा सुनैसुन । वेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन’ ओलीले व्यंगात्मक शैलीमा भने, ‘स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरि स्वर्ण युग नआए कहिले आउँछ त रु भन्दैछ सरकार । नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन । स्वर्ण युग नै आएको छ । उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भइराखेको छ ।’
चिल आयो, चिल आयो भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीको आरोप छ । उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए ।