बेइजिङ । परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले चीनको अद्वितीय विकास र समृद्धिबाट नेपालले लाभ लिन सक्नुपर्ने बताएका छन् ।
बेइजिङस्थित नेपाली राजदूतावासमा आज आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्बोधन गर्दै चीनले छोटो समयमा हासिल गरेको चामत्कारिक आर्थिक प्रगति प्रशंसा समेत गरे । उनले चीनले नेपालको आर्थिक विकासमा गरेको निरन्तर सहयोगका लागि आफूहरू कृतज्ञ रहेको बताए ।
“नेपाल र चीनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा यहाँहरूले निरन्तर काम गरिरहनुभएको छ”, नेपाली समुदायलाई सम्बोधन गर्दै उनले भने, “दुई देशबीचको शताब्दीयौँदेखि घनिष्ट एवं मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हितका विषयमा सहकार्य अभिवृद्धि गर्दै जाने दिशामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को यो औपचारिक भ्रमणलाई दुवै पक्षले अत्यन्त महत्त्वपूर्ण रूपमा लिएका छौँ ।”
उनले प्रधानमन्त्री र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङबीच शनिबार भएको द्विपक्षीय भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध विषयहरूमा सारगर्भित कुराकानी भएको भएको जानकारी दिए । “दुई असल एवं परम्परागत छिमेकीका रूपमा नेपाल र चीनबीच मित्रता र सांस्कृतिक आदानप्रदानको लामो इतिहास छ । हामीले पारस्परिक सम्मान, विश्वास र समझदारीमा आधारित घनिष्ठ सम्बन्ध कायम गर्दै आएका छौँ”, उनले भने ।