काठमाडौं । साताको दोस्रो कारोबार दिन पनि शेयर बजार घटेको छ । सोमबार ५.८९ अंकले घट्दै शेयर बजार २००४.४५ को बिन्दुमा झरेको छ ।
सोमबार घटेको बजारमा कारोबार पनि यसअघिका दिनको तुलनामा निकै कम भएको छ । ६५ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँको भयो । जुन तीन कारोबार दिन यताकै सबैभन्दा कम हो ।
सोमबार कारोबारमा आएका २३१ कम्पनीमध्ये १२९ कम्पनीका लगानीकर्ताले घाटा खाए भने ९२ कम्पनीका लगानीकर्ताले केही नाफा कमाए । सोमबार १० कम्पनीको मूल्यमा भने कुनै घटबढ भएन ।
बजार घटेको भएपनि सोमबार सात कम्पनीको कारोबार सकारात्मक सर्किट लेबलमा भयो भने १२ कम्पनीको मूल्यमा पाँच प्रतिशतभन्दा बढीले बृद्धि भयो ।
घटेको बजारमा शुभम् पावर, थ्री स्टार र उपर लोहोरीको मूल्यमा नकारात्मक सर्किट लागेको छ । शुभम्को यसअघि पनि नकारात्मक सर्किट लागेको थियो ।
सोमबार कारोबार आधारमा हालै दोस्रो बजारमा आएका सन नेपाल लाइफ इन्स्योरेन्स र रिलायन्स नेपाल लाइफ इन्स्योरेन्सको कारोबार उच्च रह्यो । सन लाइफको एक लाख ६७ हजार ३१९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ७६ करोड ८९ लाख ६६ हजार रहेको छ ।