सस्तिँदै सुन, सातामै १२ सयले घट्यो मूल्य-Sutra News

सस्तिँदै सुन, सातामै १२ सयले घट्यो मूल्य

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

काठमाडौं । नेपाली बजारमा सुन सस्तिन थालेको छ । तीज गएसँगै घटेको मूल्य निरन्तर ओरालोमा छ ।



असोज २ मा तोलाकै एक लाख १३ हजार पुगेको सुनको मूल्य असोज ९ गतेसम्म आउँदा १२ सय रुपैयाँले सस्तिँदै एक लाख ११ हजार आठ सय रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार असोज ३ देखि नै सुनको मूल्यमा निरन्तर गिरावट आइरहेको छ ।

असोज ३ गते दुई सय रुपैयाँ, ४ गते तीन सय रुपैयाँ र ५ गते चार सय रुपैयाँले सुनको मूल्य घटेको थियो । त्यसयता सामान्य घटबढ र स्थिर रहँदा असोज ९ मा पुनः चार सय रुपैयाँले गिरावट आएको छ ।

सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार मागमा आएको कमीका कारण सुनको मूल्य निरन्तर घटेको हो । अहिलेको ट्रेन्डलाई हेर्दा, मूल्य थप सस्तिन सक्ने पनि अनुमान गर्न सकिन्छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुनको माग आधाभन्दा बढीले घटेको छ । यसपटकको तीजमै व्यापार निकै सुस्ताएको उनले बताएका छन् ।

यसअघिका तीजमा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेकोमा यसपटक दैनिक १० किलोभन्दा बढी बिक्री नभएको उनले बताए । उपभोक्तासँग क्रयशक्ति पर्याप्त नहुँदा अहिलेको समस्या देखिएको उनको भनाई छ ।

नेपाल राष्ट्र बैंकले चाडबाडको सिजन सुरु भएसँगै सुन आयातको कोटालाई बढाएको थियो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमार्फत हुँदै आएको १० केजी सुन आयातलाई २० किलो बनाएको थियो ।

व्यवसायीकै मागअनुसार कोटा बढाइए पनि माग नबढ्दा बजार थप प्रभावित भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट