गोकुल र महेश नै लागे ओलीविरुद्ध, बागमतीमा बन्यो लुम्बिनीको अवस्था-Sutra News

गोकुल र महेश नै लागे ओलीविरुद्ध, बागमतीमा बन्यो लुम्बिनीको अवस्था

मंगलबार, ९ असोज २०८०

मंगलबार, ९ असोज २०८०

काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेशको नेतृत्व चुन्नका लागि अधिवेशन जारी छ । बन्दशत्रको कार्यक्रम सम्पन्न गर्न एमाले नेता गुरु बरालको संयोजकत्वमा निर्वाचन कमिटी बनाइएको छ ।



बुधबारसम्ममा अधिवेशन सक्नेनेताहरुको तयारी छ । तर, नेतृत्व चयनको विषयमा पेचिलो प्रतिस्पर्धा देखिँदा अधिवेशन निर्धारित समयमा सकिनेमा आशंका उत्पन्न भएको छ । एमाले केन्द्रीय नेतृत्वले सर्वसम्मत तवरले नेतृत्व चुन्न निर्देशन दिएको छ तर, एमाले बागमतीको ग्राउन्ड हेर्दा सर्वसम्मति भइहाल्ने छाँटकाट देखिँदैन ।

प्रदेशको अध्यक्ष बन्न थुप्रै नेता आकांक्षी देखिएका छन् । आकांक्षीहरु सहमतिभन्दा प्रतिस्पर्धामा जान खोजेसँगै अधिवेशन लम्बिने देखिएको हो । बागमती प्रदेश अध्यक्षका लागि केन्द्रीय सदस्य सानु श्रेष्ठ, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल र अहिलेका अध्यक्ष केशव पाण्डेले आकांक्षा राखेका छन् । त्यसो त, कृष्णभक्त पोखरेल पनि स्वयम् अध्यक्षको आकांक्षी रहेको बताइन्छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली गुटगत संरचनाको विकास हुने भन्दै चुनाव हुन नदिने पक्षमा देखिएका छन् । तर, आकांक्षी ओलीको निर्देशनमा सहमत छैनन् ।

लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच समूह नै बनाएर प्रतिस्पर्धा भएको थियो । प्यानल नै बनेर लुम्बिनीमा गुटगत प्रतिस्पर्धा भएको थियो । बागमतीमा भने उक्त प्रतिस्पर्धा रोक्ने प्रयास भइरहेको छ । बागमतीमा पनि उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट सक्रिय छ ।

त्यसमध्ये पनि यहाँ एमाले नेता महेश बस्नेत र गोकुल बाँस्कोटाले उपगुट चलाएका छन् । बस्नेत र बाँस्कोटाले आफू अनुकूल अध्यक्ष बनाउन कम्मर कसेर लागेका छन् ।

यस्तो छ बस्नेत र बाँस्कोटाको समीकरण

बागमती प्रदेश अध्यक्षमा पोलिट्ब्युरो सदस्य महेश बस्नेत र गोकुल बाँस्कोटा आकांक्षीका रूपमा थिए । बाँस्कोटालाई केही समयअघिको सचिवालय निर्णय बाधक भयो । सचिवालय बैठकले सांसदहरू पार्टी कमिटीको कार्यकारी (अध्यक्ष र सचिव) भूमिकामा रहन नपाउने निर्णय गरेको छ ।

बस्नेतले पनि आफू नेतृत्वको दौडमा नरहेको बताइसकेका छन् । तथापि बागमती प्रदेशमा यी दुई नेताको भूमिका निर्णायक हुने देखिन्छ ।

बस्नेतको काठमाडौं उपत्यकामा राम्रो प्रभाव छ । बाँस्कोटाको काभ्रे, सिन्धुपाल्चोकलगायत जिल्लामा प्रभाव रहेको नेताहरू बताउँछन् ।

एक नेताका अनुसार बस्नेतले रामेछापका कैलाश ढुंगेललाई अघि सार्न नेताहरूलाई लबिङ तीव्र बनाएका छन् । बाँस्कोटाको रोजाइमा मकवानपुरका कृष्ण दाहाल परेका छन् ।

पछिल्लो समय पार्टीको कार्यकारी भूमिका नरहेका र राजकीय जिम्मेवारीमा पनि नरहेकाले उनलाई अघि सार्नु उपयुक्त हुने बाँस्कोटाको बुझाइ देखिन्छ ।

उता कैलाश ढुंगेलले पनि कार्यकारी भूमिका पाएका छैनन् । लगातारको हारपछि २०७४ को निर्वाचनमा रामेछाप (ख)बाट प्रदेश सभामा निर्वाचित उनी पूर्व जिविस सभापति पनि हुन् ।

ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायत नेताहरूको समर्थन लिएर अघि सार्न लागिएको एमाले नेताहरूले जानकारी दिएका छन् । यद्यपि, लुम्बिनी प्रदेशमा जस्तो शीर्ष नेताहरूको चाहना बाहिर प्रकट नभइसकेको एक नेताले जानकारी दिए ।

त्यसैका लागि सहमतिको प्रयास भइरहेको छ । बागमती प्रदेश अधिवेशनका लागि १३ जिल्लाबाट १ हजार १३८ प्रतिनिधि छनौट भएका छन् ।

अधिवेशनका लागि काठमाडौंबाट १३२ जना काभ्रेबाट १२५ र मकवानपुरबाट १०६ जना छनौट भएका छन् । त्यसैगरी, धादिङबाट ८७, चितवनबाट ८५, रामेछाप ८१, भक्तपुर ६६, सिन्धुली ६६, दोलखा ६५, सिन्धुपाल्चोक ६४, नुवाकोट ६४, ललितपुर ५० र रसुवाबाट २७ जना छन् । साथै, जनसंगठनको तर्फबाट ९५ जना प्रतिनिधि छनौट भएको एमालेले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट