आशंकापूर्ण कारोबार, विनोद चौधरीको भारतीय कम्पनीहरुमा आयकरको छापा-Sutra News

आशंकापूर्ण कारोबार, विनोद चौधरीको भारतीय कम्पनीहरुमा आयकरको छापा

बुधबार, १० असोज २०८०

बुधबार, १० असोज २०८०

काठमाडौं । चर्चित उद्योगपति विनोद चौधरीको भारतमा रहेका विभिन्न कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ । भारतका विभिन्न स्थानमा रहेका चौधरीका कम्पनीमा विभागले मंगलबार एकैपटक छापा मारेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।



‘सीजी कर्प ग्लोबल’को नाममा चौधरी समूहले भारतको जयपुर, दौसा र सिकरलगायतका पाँच स्थानमा कम्पनी खडा गरेको छ । सञ्चार माध्यमले जनाएअनुसार मंगलबार एकैपटक सबै स्थानमा आयकरले छापा मारेको थियो । आयकर विभागले चौधरीका सबै कम्पनीका कागजातहरु जफत गरेको बताइएको छ ।

स्थानीय टेलिभिजन ‘सच बेधडक’ले चौधरी समूहको कम्पनीहरुमा छापा हानिएको भिडियो सार्वजनिक गरेको थियो । टेलिभिजनले भारतीय मूलका नेपाली खर्बपति चौधरीले भारतमा अनधिकृत धन्दा चलाइरहेको कुरा रिपोर्टमा जनाएको छ ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार चौधरी समूहले भारतमा व्यवसाय गरिरहँदा ठूलो मात्रामा कर छली गरेको छ । चौधरी समूहले गरेको कतिपय कारोबार नै अनधिकृत रहेको आशंका समाचार रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

चौधरी समूहले भारतसहित विश्वका विभिन्न ३० देशमा लगानी गर्दै आएको छ । चौधरी समूहले रियल स्टेट, होटल, टेलिकम, रिटेल, इलेक्ट्रोनिक्स र बैकिङ्ग क्षेत्रमा समेत लगानी गरेको पाइन्छ ।

अन्तराष्ट्रिय खोज पत्रकारहरुको संस्थाले केही समयअघि चौधरी समूहले ट्याक्स हेभन मुलुकहरुमा कम्पनी खोल्ने र त्यही कम्पनीहरुमार्फत अनधिकृतरुपमा व्यवसायीक कारोबार गर्ने गरेको रिपोर्ट सार्वजनिक गरेको थियो । उक्त रिपोर्टमा जनाइएअनुसार अनधिकृत कारोबार गर्न चौधरी समूहले ब्रिटिश भर्जिन आइल्याण्ड, सिंगापुर र पनामामा कम्पनीहरु खडा गरेका छन् ।

नेपालको कानुनअुनसार विदेश लगानी गर्न रोक लगाइएको भएपनि विनोद चौधरीले खुलेरै विभिन्न देशमा लगानी गर्दै आएका छन् । बेला–बेलामा उनको लगानीमाथि प्रश्न उठेपनि राजनीतिक संलग्नताको कारण त्यस्ता विषय सेलाउने गरेका छन् । पार्टी परिवर्तन गरिरहने चौधरी अहिले नेपाली कांग्रेसमा आबद्ध छन् । उनी कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट