काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालोमा छ । पछिल्लो तीन दिनको बीचमा मात्रै सुनको मूल्यमा २२ सयले गिरावट आएको छ ।
तीजको भोलिपल्ट अर्थात् असोज २ मा प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज ११ मा आउँदा एक लाख नौ हजार छ सय रुपैयाँ पुगेको छ । यो नौ दिनको बीचमा सुनको मूल्यमा तीन हजार चार सय रुपैयाँले गिरावट आएको छ ।
विशेषगरी पछिल्लो चार दिनको बीचमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । असोज ८ मा प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य असोज ११ मा एक लाख नौ हजार छ सय रुपैयाँमा झरेको छ । जसअनुसार पछिल्लो चार दिनमा मात्रै सुनको मूल्यमा दुई हजार छ सय रुपैयाँले गिरावट आएको छ ।
पछिल्लो चार दिनमा भएको गिरावटलाई हेर्दा सुनको मूल्यमा दैनिक सरदर छ सय ५० रुपैयाँले घटेको छ। जुन ट्रेन्डलाई हेर्दा सुनको मूल्य थप सस्तिन सक्ने अनुमान गर्न सकिन्छ ।
किन घट्दैछ मूल्य ?
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको माग निरन्तर घट्दो छ । चाडपर्व लागेसँगै बढ्ने गरेको माग यसपटक भने घट्दो ट्रेन्डमा रहेको उनले बताए ।
यसअघिका तीजमा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेकोमा यसपटक दैनिक १० किलोभन्दा बढी बिक्री नभएको उनले जानकारी दिएका छन् । उपभोक्तासँग क्रयशक्ति पर्याप्त नहुँदा मूल्य घट्न थालेको उनको बुझाई छ ।
नेपाल राष्ट्र बैंकले चाडबाडको सिजन सुरु भएसँगै सुन आयातको कोटालाई बढाएको थियो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुमार्फत हुँदै आएको १० केजी सुन आयातलाई २० किलो बनाएको थियो ।
व्यवसायीकै मागअनुसार कोटा बढाइए पनि माग नबढ्दा बजार थप प्रभावित भएको देखिन्छ ।