काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कर्मचारीहरुका लागि गरेको निर्देशनको पत्र अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । गृहमन्त्रीको निर्देशनबमोजिम गृहमन्त्रालयका उपसचिव भीमकान्त शर्माले गृहमन्त्रालयअन्तर्गका सबै महाशाखाका नाममा बुधबार निर्देशनात्मक पत्र काटेका थिए ।
पत्रमा गृहमन्त्रालयअन्तर्गतका सबै महाशाखाका कर्मचारीहरुलाई हरेक बिहान १०ः०० बजेदेखि १०ः१५ सम्म योग तथा ध्यान गर्न निर्देशन गरिएको छ । कर्मचारीलाई योग ध्यानपश्चात मात्रै कार्यको सुरुवात गर्न भनिएको छ ।
मन्त्रालयले मन्त्रालय, विभाग र उपत्यकाभित्रका कार्यालयहरुका लागि एक दिवशीय ध्यान विज्ञान कार्यक्रम सञ्चालन भइसकेको र अन्य कर्मचारीहरुका लागि पनि यस्तो कार्यक्रम छिट्टै सञ्चालन हुन लागेको बताएको छ । मन्त्रालयले सबै कर्मचारीलाई योगअभ्यास प्रशिक्षण दिएपछि सोहीअनुरुप योग र ध्यान गर्ने वातावरण बनाउने पनि जनाएको छ ।
कर्मचारीलाई गृहमन्त्रीले गरेको निर्देशनलाई लिएर अहिले विभिन्न तहबाट टिकाटिप्पणी भइरहेका छन् । विशेषतः कर्मचारी तहबाट यसलाई स्वागत गरिएको देखिन्छ भने नागरिक तहबाट केही विरोध गरिएको पाइन्छ । कर्मचारीहरु कामप्रति दत्तचित्त नभइरहेको सन्दर्भमा थप काम नगर्न ढाडस दिइएको कतिपयको टिप्पणी छ ।
योग ध्यान खाली पेट र बिहानैको समयमा गर्नुपर्ने मान्यताअनुसार गृहमन्त्रीको निर्देशन एकातिर अव्यवहारिक देखिन्छ भने अर्कोतिर पत्रमा अधिकृत तहलाई मात्रै यस्तो निर्देशन हुनुले कर्मचारीहरुबीचमा नै विभाजन गरिएकाे पाइन्छ ।
पूर्वप्रशासक ईश्वरीप्रसाद पोखरेल गृहमन्त्रीको पछिल्लो निर्देशन व्यवहारिकताको कडिबाट जाँच्नुपर्ने बताउँछन् । कर्मचारीहरुको वृत्ति विकास र सर्वाङ्गिण पाटोमा सोंच्नु ठिकै भएपनि कुन कति प्राथमिकतामा राख्ने भन्ने विषय हुनुपर्ने उनकाे भनाइ छ ।
“अहिले कर्मचारीमा लगनशीलताको खडेरी नै देखिन्छ, कर्मचारीहरुभित्र नेतृत्वको विषयमा पनि समस्या छ”, उनले भनेका छन्, “दिइने निर्देशन पनि व्यवहारिक हिसाबले कति महत्वपूर्ण भन्ने जाँचिन्न, जसको कारण प्रतिफल आउन मुस्किल हुन्छ । अहिले गृहमन्त्रीले दिएको निर्देशन व्यवहारिकभन्दा चित्त बुझाउने खालको मात्रै हो कि भन्ने देखिन्छ ।”
उनका अनुसार राजनीतिक नेतृत्वबाट हचुवामा हुने कतिपय निर्देशनले कर्मचारीलाई अराजक बन्न थप सहयोग पुग्ने गरेकाे छ ।
राजनीतिक नेतृत्वबाट कर्मचारीतन्त्रलाई गरिने निर्देशनलाई लिएर बेला–बेला बहसहरु उठ्ने गरेका छन् । स्थायी संयन्त्रमाथि अस्थायी संयन्त्रले दिने निर्देशनको पनि कडि जाँचिनुपर्ने माग उठेको देखिन्छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूलाई कार्यालय प्रवेश अगाडि ‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने वाक्य पढ्न लगाएका थिए । उनले कार्यालयहरुमा भ्रष्टाचारविरुद्धका ‘स्लोगन’ पनि लेख्न लगाएका थिए । तर, तथ्यगतरुपमा हेर्दा तत्कालिन समय ओलीले गरेको निर्देशन र व्यवहार ठीक उल्टो देखिन्छ ।
तत्कालिन समयमा भएका थुप्रै प्रकृतिका भ्रष्टाचारसम्बन्धी फाइल अहिले चर्चामा छन् । वैधानिक लेपन लगाएर भएका कतिपय फाइलमाथि अहिले पनि अनुसन्धान चलिरहेको छ ।
पूर्वप्रशासक पोखरेल बचन नभइ, कर्म महत्वपूर्ण रहने बताउँछन् । कर्मचारी संयन्त्रभित्र ‘र्याडिकल’ परिवर्तन नै आवश्यक रहेको भन्दै उनले योग/ध्यानका लागि गरेका निर्देशन चित्त बुझाउने पाटो मात्रै भएको बताए ।
“जसरी कर्मचारी संयन्त्र चलिरहेको छ, यसमा र्याडिकल परिवर्तनकै खाँचो छ, यस्ता कुरा आंशिक ठिक जस्ता देखिएपनि यसले नतिजा खास ल्याउन सक्दैन”, पोखरेलले भनेका छन् ।