काठमाडौँ। चीनले हालै सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी लगायतका क्षेत्र भारतमा देखाइएकोबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कुरा नउठाएकोप्रति नेकपा (मसाल)ले आपत्ति जनाएको छ।
प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छैन।
साथै, मसालले नेपालको भूमि चीनविरुद्ध प्रयोग हुनसक्नेतर्फ चिनियाँ अधिकारीहरुले गरेको ध्यानाकर्षणलाई पनि गम्भीर रुपमा लिएको जनाएको छ। पछिल्लो समय नेपालको भूमी चीनविरुद्ध प्रयोग गर्नेगरी अमेरिका योजनावद्ध रुपमा आएको मसालको ठहर छ। त्यसको प्रमाण एमसीसी सम्झौता भएको पनि मसालले स्पष्ट पारेको छ।
महामन्त्री मोहनविक्रम सिंहले जारी गरेको वक्तव्यमा एमसीसी खारेज गर्नुपर्नेमा पुनः जोड दिइएको छ।
वक्तव्यमा मसालले राहत शिक्षकहरुले गरिरहेको आन्दोलनप्रति पनि ध्यानाकर्षण भएको जनाएको छ। आन्दोरनरत पक्षसँग वार्ता गरी अस्थायी शिक्षकलाई स्थायी बनाउन माग पनि गरेको छ।