काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सस्तिँदो छ । सुनको मूल्य दैनिक झण्डै एक हजारको दरले घटिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो चार दिनको बीचमा मात्रै सुनको मूल्यमा तीन हजार रुपैयाँले गिरावट आएको छ । असोज ९ मा छापावाला सुन प्रतितोला एक लाख ११ हजार आठ सय रुपैयाँ रहेकोमा शुक्रबार असोज १२ मा आउँदा एक लाख आठ हजार आठ सय रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख आठ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन एक लाख आठ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्य तीज गएसँगै घट्न थालेको थियो । असोज २ मा सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँ रहेको थियो । योबीचमा सुनको मूल्यमा चार हजार २ सय रुपैयाँले घटेको छ ।
सुनको मूल्य निरन्तर घट्दो क्रममा छ । महासंघले जनाएअनुसार मागमा कमी आउँदा मूल्य घट्न थालेको हो ।