काठमाडौं । नेकपा (एमाले)का प्रदेश तहका अधिवेशनहरु चलिरहेका छन् । सबैजसो प्रदेश तहका अधिवेशनमा प्यानलगतरुपमा प्रतिस्पर्धा भइरहेको छ । जुन पार्टी अध्यक्ष केपी शर्मा ओलीको चाहना विपरित छ ।
अध्यक्ष ओलीले सबैजसो प्रदेशमा सहमतिबाट नेतृत्व चयन गर्न चाहेका थिए । साथै, उनले केही नेतालाई तोकेरै अगाडि पनि सारेका थिए ।
लुम्बिनी प्रदेशमा ओलीको चाहनाअनुसार अघि सारिएका हरि रिजाल पराजित भए । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिने राधकृष्ण कँडेलले पराजित गराएका थिए ।
अहिले कर्णाली प्रदेश र बागमती प्रदेशमा एमालेको अधिवेशन चलिरहेको छ । कोशी प्रदेशमा आज अधिवेशन उद्घाटन भएको छ । तीनै प्रदेशमा ओलीले आफूँ निकटलाई सर्वसम्मत गराउन प्रयास गरेका छन् । तर, उनको सफल हने अवस्था छैन ।
आफू निकटलाई सर्वसम्मत गराउने प्रयासपछि ओली विवादमा तानिएका छन् । ओलीप्रति पार्टीभित्र र बाहिरबाट आलोचना सुरु भएको छ ।
आलोचना गर्नेविरुद्ध खनिए ओली
आफूमाथि आलोचना गर्नेविरुद्ध ओली सार्वजनिकरुपमा खानिएका छन् । शुक्रबार कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्न विराटनगर पुगेका ओलीले आफूविरुद्ध गलत सन्देश फैलाएको भन्दै आक्रोश पोखे ।
“केपी ओलीले भनेको कार्यकर्ताले मानेनन् भन्ने सन्देश दिन खोजिएको छ, केही सञ्चार माध्यम र विरोधीहरुले गलत सन्देश फैलाइरहेका छन्”, उनले भनेका छन्, “के मैंले कसैलाई भोट दिनु र कसैलाई नदिनु भन्न मिल्छ ?”
पार्टीभित्र आफूँ स्वच्छ प्रतिस्र्धाकै पक्षमा रहेको तर, गुटगत प्रतिस्पर्धालाई बढावा दिन नखोजेको भन्दै ओलीले आफ्नो बचाउ गरेका छन् ।