इतिहासकारहरुले ‘निरो’ अर्थात् क्लाउदिअस सिजर अगस्तसको सन्दर्भलाई निकै नै प्रयोग गरेको पाइन्छ । भनिन्छ, ‘रोम जलिरहँदा, निरो आरामपूर्वक बाँसुरी बजाइरहेको थियो ।’
इतिहासकारका अनुसार रोमन सामाज्य्रको सम्राट निरोमा अनौठो सनक चढ्यो । उसलाई राेम नगर जल्दाको दृश्य हेर्न मन लाग्यो । क्रुर सम्राट निरोले आफ्ना सैनिकहरुलाई लगाएर रोम नगरमा आगो लगायो । उसको निर्देशनबमोजिम सैनिकहरुले रोम नगरलाई जलाए । निरो जलिरहेको रोम नगरलाई हेर्दै रोमाञ्चकपूर्वक बाँसुरी बजाइरह्यो ।
निरोको सन्दर्भलाई धेरै कथाहरुमा प्रयोग गरिएको पाइन्छ । खासमा सत्ता नेतृत्वकर्ताका भूमिकासँग जोडेर निरोको सन्दर्भलाई तुलना गरिन्छ । सन् ६४ तिर भएको उक्त घटनालाई एउटा विम्बको रुपमा प्रयोग गरिएको पाइन्छ ।
आज निरोको विम्ब नेपालको सत्ता सन्दर्भमा पनि जोड्न सकिन्छ । नेपालको कार्यकारी प्रमुखको भूमिकामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका उनको कतिपय भूमिका निरोसँग तुलना गर्दा धेरै नमिल्दो हुँदैन ।
अहिले मुलुक करिब आन्दोलनमय छ । केन्द्रीय राजधानी काठमाडौं नियमितजसो आन्दोलनले प्रभावित छ । निकै संवेदनशील क्षेत्रको रुपमा हेरिने शिक्षा र स्वास्थ्य क्षेत्रभित्रको आन्दोलनले नागरिक निकै पीडामा छन् । मुलुकमा धार्मिक तथा जातिय हिंसाका घटना पनि देखिन थालेका छन् ।
सँगै विभिन्न प्रकरणसँग सम्बन्धित मुद्दाहरु असरल्ल छन् । प्रधानमन्त्री नभएकै कारण कतिपय आन्दोलनसँग सम्बन्धित मुद्दामा सम्झौता हुन सकेको छैन भने कतिपय प्रकरणका फाइलहरु अगाडि बढ्न सकेका छैनन् । समग्रमा मुलुक निकै संकटतर्फ उन्मुख देखिन्छ ।
तर, प्रधानमन्त्री प्रचण्ड देशमा सब ठीकठाक चलिरहेको जस्तो गरी रमाइलो शैलीमा घुमघाममा छन् । उनको अहिलेको भूमिका रोम जल्दा, बाँसुरी बजाउँदै रमाइरहेको निरोको शैलीसँग केही मिल्छ ।
राजकीय भ्रमणकै बेइज्जत
सन् २०१९ को अक्टोबरमा नेपाल भ्रमणमा आएका बेला चिनियाँ राष्ट्रपति सीले झण्डै २४ घण्टा मात्र नेपाल बिताएका थिए । उनले आफ्नो भ्रमणलाई निर्धारित एजेण्डाभन्दा बाहेक लगेनन् ।
तर, चीन भ्रमणमा रहेका नेपालका कार्यकारी प्रमुख प्रचण्डले आफ्नो प्राथमिकताका एजेण्डालाई छाडेर रंग रमाइलोमा आफूलाई व्यतित गरे । उनले शीलाई नै लज्जा बनाउने गरी भ्रमण तालिका बनाए ।
प्रचण्डको महत्वपूर्ण राजनीतिक भेटघाट दुई दिनमै सकिएको थियो । तर, त्यसपछि उनी चीनमा अवलोकन भ्रमण र तिर्थाटनमा मस्त छन् ।
प्रचण्डको अवलोकन भ्रमण र तिर्थाटनले अन्तराष्ट्रिय रुपमै औपचारिक भ्रमणमाथि पनि प्रश्न उठाएको देखिन्छ । उनको शैली सामान्य निजी भ्रमणजस्तो देखिएको छ । हुनत् भ्रमण टोलीमा उनकी कान्छी छोरी गंगा दाहाल पनि छिन् ।
चीन भ्रमणका बेला विभिन्न १२ वटा सम्झौता र एउटा लेटर अफ एक्सचेन्जमा औपचारिकरूपमा हस्ताक्षर भएको छ । तर, औपचारिक भ्रमणपछि लम्बिएको अवलोकन भ्रमण र तीर्थाटनले उनले गरेका सबै औपचारिक सम्झौतालाई गौण बनाइदिएको छ ।
यसअघि भारत भ्रमणका क्रममा पनि प्रचण्डले यही शैली अपनाएका थिए । समग्रमा प्रचण्डको भारत भ्रमण पनि अवलोकन र तीर्थाटन केन्द्रीत मात्रै देखिएको थियो ।
कुटनीतिक सम्बन्धमाथि भद्दा मजाक
प्रचण्डको शैलीले नेपालको कुटनीतिक क्षमतालाई पनि कमजोर देखाएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । कार्यकारी प्रमुख जस्तो पात्रले भ्रमणमा प्राथमिकता छुट्याउन नसक्नु बिडम्बना भएको विज्ञहरुको भनाई छ ।
“औपचारिक भ्रमण कसरी गर्ने, भ्रमणका एजेण्डा कसरी तय गर्ने, कुन पात्रलाई छलफलमा राख्ने, कुन विषयमा कति समय खर्चिने जस्ता विषयलाई उच्च ध्यान दिनु नितान्तः आवश्यक हुन्छ”, परराष्ट्र विज्ञ हिरण्यलाल श्रेष्ठ भन्छन्, “तर, त्यस्ता कुरामा ध्यान पुर्याएको देखिन्न, जसले पूर्णत मुलुकलाई कमजोर ठहर्याएको छ ।”
आन्तरिक अवस्थाअनुसार बाह्य भ्रमण प्राथमिकतामा पर्नुपर्ने परिपाटीअनुसार प्रचण्डको भ्रमण नितान्तः अव्यवहारिक पनि देखिएको विज्ञहरुको बुझाई छ ।
अहिले मुलुक निकै संकटमा छ । आन्दोलनले आक्रान्त छ । यस्तोमा अवस्थामा आन्तरिक समस्यालाई हल गर्नेभन्दा प्रचण्ड बाह्य मुलुकको भ्रमणमा केन्द्रीत भएर व्यक्तिगत रमाइलाेलाई महत्व दिएकाे देखिन्छ ।